जलविद्युत कम्पनीहरू कतिपय नाफामा गए पनि लाभांश दिन सक्ने अवस्थामा छैनन्। तर केहीबाट राम्रो दरमा लाभांश पाइने देखिएको छ।
कस्तो अवस्थामा जलविद्युत कम्पनीको वास्तविक लाभांश दर निकाल्न समस्या हुन्छ?
जलविद्युत कम्पनीहरूको वित्तीय विवरणमा एकरूपता नभएका कारण सबैले लाभांश दिन सकिने रकम स्पष्ट देखाउँदैनन्।
कतिपयले अन्य इक्विटी, सञ्चित तथा जगेडा कोष (रिजर्भ एन्ड सरप्लस) मा समेत यस्तो रकम राखेका हुन्छन्। केहीले भने स्पष्टसँग सञ्चित आम्दानी (रिटेन अर्निङ) भनेर लाभांश बाँड्न सकिने रकम देखाएका हुन्छन्।
चार्टर्ड एकाउन्टेन्ट (सिए) अरूण राउतका अनुसार जलविद्युत कम्पनीहरूको अन्य इक्विटी वा सञ्चित तथा जगेडा कोषमा सेयर प्रिमियमबापतको रकम, अनरियलाइज्ड प्रोफिट (हात परिसकेको नभएको कागजी नाफा) जस्ता रकमसमेत हुने भएकाले त्यो सबै रकमलाई वितरणयोग्य रकम मान्न सकिँदैन।
हाल वित्तीय विवरण प्रकाशन गरेकामध्ये लाभांश दिन सकिने रकम नै उल्लेख गरेका दुई कम्पनीको यहाँ चर्चा गर्नेछौं।
यी हुन्— मकर जितुमाया सुरी हाइड्रो र चिलिमे हाइड्रोपावर।
मकर जितुमाया सुरी हाइड्रो
२०८० वैशाखबाट मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर कारोबारमा आएको हो।
हालसम्मको यसको उच्च मूल्य ८४५ रूपैयाँ हो। अहिले यसको सेयर सो उच्च मूल्य बनाएयताकै कम मूल्यमा कारोबार भइरहेको छ।
बुधबार यसको सेयर ४१५ रूपैयाँमा कारोबार भएको छ।
आर्थिक वर्ष २०८१–८२ बाट यो नाफामा जान थालेको हो। गत आर्थिक वर्ष २०८२–८३ मा मकरको नाफा ४ करोड ६६ लाख रूपैयाँबाट बढेर ७ करोड ८२ लाख रूपैयाँ पुगेको छ।
यसको नाफा ६७ प्रतिशत बढेको हो। यसको विद्युत बिक्रीबाट भएको आम्दानीमा खासै वृद्धि नदेखिए पनि ब्याज लगायतको वित्तीय लागत घटेपछि नाफा बढेको हो।
यसअघि विद्युत बिक्रीबाट ३८ करोड कमाएको यसले यस पटक ३९ करोड रूपैयाँ कमाएको हो।
ब्याज खर्च भने १८ करोड ३१ लाखबाट घटेर १५ करोड रूपैयाँ भएको छ।
डोल्मा इम्प्याक्ट फन्डमार्फत वैदेशिक लगानी भित्र्याएर मकरले दुई आयोजना सञ्चालन गरिरहेको छ। सुरी खोला र माथिल्लो सुरी खोला जलविद्युत आयोजना दुवै ७ मेगावाटका हुन्।
विद्युत खरिद दर केही बढेकाले विद्युत बिक्रीबाट भएको आम्दानी केही बढेको यसले वित्तीय विवरणमा उल्लेख गरेको छ।
यसको हाल एक अर्ब ७८ करोड बराबरको दीर्घकालीन ऋण दायित्व छ।
मकरले हालसम्म लाभांश दिएको छैन। यस पटक भने यसले रिटेन अर्निङमा ११ करोड रूपैयाँ देखाएको छ।
हाल ७६ करोड चुक्ता पुँजी रहेको मकरले चाहेमा १४.६१ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ।
हाल यसको प्रतिसेयर आम्दानी १० रूपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ ११४ रूपैयाँ छ।
चिलिमे हाइड्रोपावर
चिलिमे हाइड्रोपावर २०६२ साल जेठबाट कारोबारमा आएको हो। एक वर्षयताको यसको उच्च मूल्य ५३० रूपैयाँ र न्यून मूल्य ४५० रूपैयाँ छ।
बुधबार यसको सेयर भाउ एक रूपैयाँ घटेर ४८१ रूपैयाँमा कारोबार भएको छ।
नियमित लाभांश दिइरहेको चिलिमेले विगत पाँच वर्षमा वार्षिक औसत १३.८ प्रतिशत लाभांश दिएको छ।
यस पटक यसले करिब २४ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखाएको छ। ९ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको यसले २ अर्ब २६ करोड रूपैयाँ रिटेन अर्निङ देखाएको छ।
आर्थिक वर्ष २०८२–८३ मा यसको नाफा ७.४६ प्रतिशतले बढेर ७२ करोड रूपैयाँ पुगेको छ।
यसअघि यसले ६७ करोड रूपैयाँ नाफा गरेको थियो।
आर्थिक वर्ष २०८१–८२ मा विद्युत बिक्रीबाट एक अर्ब १२ करोड रूपैयाँ आम्दानी गरेको चिलिमेको यसपालि आम्दानी एक अर्ब १६ करोड रूपैयाँ पुगेको छ।
खर्च घटाएकाले यसको नाफामा सुधार भएको हो।
चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसबाट लाभांश नआए पनि चिलिमे टावरको भाडाबाट केही आम्दानी भएको छ। यद्यपि यसको अन्य आम्दानी ३ करोड ७० लाख रूपैयाँबाट घटेर दुई करोड ७८ लाख रूपैयाँ भएको छ।
हाल यसको २१.२२ मेगावाटको चिलिमे जलविद्युत आयोजना सञ्चालनमा छ। त्यस्तै, सहायक कम्पनी सान्जेन, मध्य–भोटेकोशी र रसुवागढी हाइड्रोपावरमा सञ्चालनमा आएका आयोजना हुन्।
१०२ मेगावाटको मध्य–भोटेकोशीमा चिलिमेको ३७ प्रतिशत, १११ मेगावाटको रसुवागढीमा ३२ प्रतिशत र सान्जेन जलविद्युत कम्पनीमा ३९.३६ प्रतिशत सेयर स्वामित्व छ।
सान्जेनले कुल ५७ मेगावाटका दुई आयोजना सञ्चालन गरिरहेको छ।
चिलिमेले ८७ मेगावाटको सेती नदी ३ अर्धजलाशय आयोजना, ८१ मेगावाटको बुढीगण्डकी प्रोक आयोजना र ४५ मेगावाटको चुमचेत स्यारखोला आयोजना निर्माण कार्य सुरू गर्न सक्ने अवस्थामा रहे पनि हुन नसकेको उल्लेख गरेको छ।
यी आयोजनामध्ये केहीमा चिलिमेले लगानी प्रतिबद्धता जनाइसकेको छ। सडक तयारी अवस्थामा नभएको र विद्युत खरिद सम्झौता हुन नसकेकाले निर्माण सुरू हुन नसकेको यसले उल्लेख गरेको छ।
हाल यसको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ७ रूपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रूपैयाँ छ।