कर्मकल्चर
'गाईवस्तु छाडेर किन यता?' टाढैबाटै जिस्किँदै आएर हात मिलाइन्जेल हाँसो नरोक्ने 'डाक्सा'प' सँग कसले पो नबोलोस्!
देवेन्द्रराज पाण्डेले आफै स्थापना गरेको 'ग्रामीण स्वावलम्बन विकास केन्द्र' ले दुई वर्षअघि उहाँकै सम्मानमा अभिनन्दन समारोह आयोजना गरेको थियो। कार्यक्रम सकिएपछि शंकर होटलमा चियापान चलिरहेको थियो।
डा. पाण्डे सबैसँग हाँस्दै, बोल्दै र भलाकुसारी गर्दै हुनुहुन्थ्यो।
त्यो बेला मेडम पाण्डे अर्थात 'पद्मा टिचर' क्यान्सरको उपचारमा रहेकाले कार्यक्रममा आउन सक्नुभएको थिएन। डा. पाण्डेको स्वास्थ्य पनि क्रमशः कमजोर हुँदै गएकाले सार्वजनिक कार्यक्रममा सहभागी हुन कठिन बन्दै थियो।
त्यसैले समारोहमा उहाँका साथीभाइ, सहकर्मी र शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो।
आफ्नै खुट्टामा उभिन सक्ने दिगो संस्था निर्माण गरेका डा. पाण्डेले एक पटक अन्तरंग कुराकानीका क्रममा मलाई भन्नुभएको थियो, 'म तपाईंले अहिले थालेको कामप्रति आरिस गर्छु।'
गाउँ फर्केर जेनतेन कृषि सिक्दै गरेको मेरा लागि त्यो वाक्य जीवनकै ठूलो ढाडस थियो। सायद आफूले पूरा गर्न नपाएको सपना अरूको जीवनमा अंकुराइरहेको देख्दा उहाँलाई सन्तोष मिल्थ्यो।
ग्रामीण स्वावलम्बन— कति सुन्दर शब्द!
तर डा. पाण्डेले नेपालको आधुनिक विकासयात्रा त्यसकै विपरीत दिशातिर अघि बढिरहेको देखेर जीवनभर चिन्ता गर्नुभयो।
त्यो दिन मैले उहाँको विकास सम्बन्धी सोचलाई सबभन्दा व्यवस्थित रूपमा प्राध्यापक चैतन्य मिश्रको व्याख्यानबाट बुझ्ने अवसर पाएँ।
'स्वावलम्बन अवधारणा र डा. देवेन्द्रराज पाण्डे' शीर्षकमा बोल्दै मिश्रले डा. पाण्डेको एउटा महत्त्वपूर्ण योगदान लोकतन्त्र र विकासलाई अलग अलग होइन, एउटै प्रक्रियाका रूपमा बुझ्नु रहेको बताए।
धेरै विश्लेषकले यी दुईलाई छुट्टाछुट्टै अवधारणाका रूपमा हेरे पनि डा. पाण्डेका लागि लोकतन्त्रबिनाको विकास सम्भव थिएन।
विकास आर्थिक वृद्धि मात्र होइन। विकासले नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित सम्पूर्ण मानव जीवनको उन्नतिलाई समेट्छ।
मिश्रका अनुसार लोककल्याण सम्बन्धी एडम स्मिथका विचारलाई डा. पाण्डेले विशेष महत्त्व दिनुहुन्थ्यो, तर नवउदारवादीहरूले स्मिथलाई पढ्ने र प्रयोग गर्ने तरिकाभन्दा उहाँको बुझाइ निकै फरक थियो।
मैले भने डा. पाण्डेसँग विकासबारे गहिरो विमर्श गर्ने अवसर कहिल्यै जुटाउन सकिनँ। हाम्रो भेटघाटमा जहिल्यै समसामयिक राजनीतिक घटनाक्रमले ठाउँ ओगटिहाल्थ्यो।
म कान्तिपुरको सम्पादक हुँदा राजा ज्ञानेन्द्रको प्रतिगमनविरूद्ध उहाँले विचार लेख मात्र होइन, स–साना 'सम्पादकलाई पत्र' समेत पठाएर नागरिक खबरदारी गरिरहनुभयो।
पछि हामी बृहत् नागरिक आन्दोलनमा जोडिँदा 'घरसल्लाह' का लागि जाँदा पनि उहाँले हाम्रो भन्दा बढी हामीलाई नै खबरदारी गर्नुहुन्थ्यो। नागरिक आन्दोलनको मूल ध्येय राज्यलाई लोकतन्त्रप्रति जबाफदेही बनाउनु हुनुपर्छ भन्ने उहाँको जोड हुन्थ्यो।
नागरिक समाज शिथिल बन्दै गएको चिन्ता उहाँले बारम्बार व्यक्त गर्नुहुन्थ्यो। मैले उहाँलाई सधैं जागै देखेँ। देश सुतेको बेला पनि उहाँ जागै हुनुहुन्थ्यो। धेरै गम्भीर भएपछि फेरि ठट्टा गर्न र जिस्किन थालिहाल्नु हुन्थ्यो।
मिश्रको व्याख्यान अगाडि बढ्दै गयो। विलियम आर्थर लुइसले सामाजिक विकास र आर्थिक वृद्धि एकअर्कासँग गाँसिएका हुन्छन् भन्ने निष्कर्ष निकालेको स्मरण गर्दै उनले अमर्त्य सेनको 'डेभलपमेन्ट एज फ्रिडम' को चर्चा गरे।
विकास र स्वतन्त्रता एकअर्काका सर्त हुन् भन्ने सेनको अवधारणाप्रति डा. पाण्डे गहिरो रूपमा सहमत हुनुहुन्थ्यो।
लोकतन्त्र र विकासका यी मान्यताबाट संसार क्रमशः टाढिँदै जाँदा देशहरूबीच र देशभित्र असमानता झन् बढेको छ। त्यससँगै दक्षिणपन्थी राजनीतिको प्रभाव पनि तीव्र बनेको छ, जसको अन्तर्निहित चरित्र नै अलोकतान्त्रिक हुन्छ।
आज हामी त्यही देखिरहेका पनि छौं, भोगिरहेका पनि छौं।
यस्तो राजनीतिक प्रवृत्तिले पारिवारिक र सामुदायिक सम्बन्धहरूलाई कमजोर बनाउँदै लगेको छ। परिणाम स्वरूप व्यक्तिगत एक्लोपन, राजनीतिबाट नागरिकको अलगाव र सामुदायिक जीवनको क्षयीकरण बढ्दै गएको छ।
यी सबै लोकतन्त्रका लागि शुभ संकेत होइनन्।
डा. पाण्डेको काठमाडौं बाहिर सबैभन्दा प्रिय ठाउँ पाल्पाको बगाले थियो।
त्यसको स्मरण गर्दै मिश्रले भने, 'त्यहाँ उहाँले आफ्नोपन पाउनुहुन्छ। त्यहाँ उहाँले गर्नुपर्ने काम पनि छन् र ती काममा साथ दिने मानिस पनि छन्।'
बगालेजस्ता गाउँहरू कुनै टाढाका भूगोल मात्र होइनन्; समाजको मूलधारबाट कुनै न कुनै रूपमा पाखा पारिएका मानिसहरूको जीवन्त संसार हुन्।
ती गाउँहरू महानगरबाट प्रभावित पनि हुन्छन्, पुनर्गठित पनि। आफ्ना मानिस, श्रम, सीप र स्रोतहरू क्रमशः बाहिरिँदै जाँदा पनि डा. पाण्डे र उहाँका सहकर्मीहरूले त्यस्ता गाउँहरूलाई कहिल्यै छोड्न सकेनन्।
त्यो सुनेपछि मात्रै 'म तपाईंको कामप्रति आरिस गर्छु' र 'गाईवस्तु छाडेर किन यता?' भन्ने उहाँका वाक्यहरूको मर्म मैले गहिरोसँग आत्मसात् गरेँ।
आज गाउँहरू तीव्र परिवर्तनको चपेटामा छन्। विकासको अहिलेको राजनीतिक–आर्थिक बुझाइले गाउँलाई झन् परावलम्बी बनाउँदै लगेको छ। यस्तो समयमा डा. पाण्डेको विकास र लोकतन्त्रसम्बन्धी दृष्टि झन् सान्दर्भिक बन्दै गएको छ।
उहाँको जीवनले छाडेको वैचारिक विरासत त्यतिमै रोकिएन। विराटनगरस्थित नर्थ साउथ कलेक्टिभले उहाँको नाममा वार्षिक व्याख्यानमाला सुरू गर्यो।
स्वास्थ्य निकै कमजोर भइसकेकाले उपस्थित हुने तीव्र इच्छा हुँदाहुँदै पनि उहाँ जावलाखेलस्थित स्टाफ कलेजसम्म आउन सक्नुभएन।
त्यस कार्यक्रममा नागरिक अभियानी सञ्जीव उप्रेतीले 'संरचनात्मक लाभांश' शीर्षकमा प्रस्तुत गरेको विचारको सार थियो— आफ्नो सफलता वा विशेषाधिकार बुझ्न व्यक्तिले आफू उभिएको सामाजिक संरचना र समाजको पिँधमा रहेका मानिसहरूप्रति आफ्नो सम्बन्ध पनि बुझ्नुपर्छ।
मलाई लाग्छ, त्यो डा. पाण्डेका लागि सबभन्दा ठूलो सम्मान थियो। उहाँको जीवन नै विशालनगरको सम्पन्नता र पाल्पाको बगालेबीचको दूरी कसरी घटाउने भन्ने खोजमा बित्यो। लोकतन्त्र र विकासप्रतिको उहाँको समर्पणको सार त्यही थियो।
क्यान्सरले शरीर गलाउँदै जाँदा पनि उहाँ मानसिक रूपमा उस्तै सचेत रहन खोज्नुहुन्थ्यो। ठट्टा–मजाक गर्न छोड्नुभएन।
पछिल्ला दिनहरूमा भने उहाँलाई लोकतन्त्रकै भविष्यको चिन्ता बढी थियो। जनआन्दोलनले प्राप्त गरेका उपलब्धिहरू उल्ट्याउने प्रयासबारे उहाँ चिन्तित हुनुहुन्थ्यो।
हामी साथीहरूले भने नयाँ पुस्ता, विशेषतः राजनीतिक र नागरिक चेतनाले सशक्त बन्दै गएको जेनजी पुस्ताले लोकतन्त्रको पक्षमा उभिने विश्वास दिलाउने प्रयास गरेका थियौं।
उहाँको प्रभावको एउटा दृश्य प्रमाण उहाँकै नाममा आयोजित सार्वजनिक व्याख्यानमा देखियो। आयोजकले अनुमान गरेभन्दा धेरै नागरिक उपस्थित भएपछि सभाकक्ष साँघुरो पर्यो।
आयोजक नागरिक अभियन्ता भाष्कर गौतम टेबलमाथि उभिएर घोषणा गर्न बाध्य भए, 'अब हामी मुख्य सभाहलमा सर्नुपर्छ।'
लोकतन्त्रका लागि नागरिक अगुवाइको चार दशकभन्दा लामो यात्रापछि, लोकतन्त्रमाथि फेरि अनिश्चितताको बादल मडारिएकै बेला ८७ वर्षको उमेरमा उहाँको निधन भयो।
संयोगले, म भने उहाँले जिस्किएझैं 'गाईवस्तु हेर्न' गाउँ फर्किरहेको थिएँ।
गाउँबाटै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दा मनमा एउटै कुरा आयो— यदि यो खबर उहाँले आफै सुन्नुभएको भए, सायद फेरि मुस्कुराउँदै भन्नुहुन्थ्यो, 'गाईवस्तु छाडेर किन यता?'