राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलासीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन्।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महँगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको हेलिकप्टर खरिद गर्नुपर्ने ? अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्र पनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलासी हो ?’
साक्षात्कारमा बोल्दै राणाले भने,‘राजतन्त्रको बेलामा नभएका दृश्यहरू गणतन्त्रमा देख्न पाइएका छन्, राष्ट्रपतिलाई सुविधानै सविधा चाहिने अनि दसैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ।’
अध्यक्ष राणाले दुई तिहाइ बहुमतको वर्तमान सरकारले सिन्कोसमेत भाँच्न नसकेको गम्भीर आरोप लगाएका छन्।
राणाले २०४७ सालपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सबभन्दा शक्तिशाली वर्तमान सरकारले काम गर्न नसकेको भन्दै यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष राणाले भने,‘२०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न सकेको छैन। जनताको बारेमा चिन्ता गर्न सकेको छैन्, यो मेरो आरोप होइन, सत्य हो, नेकपाको सचिवालय बैठकमा समेत सरकारका कामकारबाहीको बारेमा नेताहरूले असन्तुष्टि पोख्नुभएको छ।’
यस्तै, राणाले नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको पनि दाबी गरेका छन्।
उनले नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रजातन्त्रवादीहरू अब एक ठाउँमा उभिनुपर्ने समय आएको पनि बताए।
उनले अघि थपे,‘कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ, तर मुलुकलाई हिन्दुराज्य बनाउनेमा कांग्रेस उभिन्छ या उभिँदैन त्यो उसको कुरा हो, म त भन्छु प्रजातन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ ।’