चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारा १२ मा ‘चन्द्रागिरी महोत्सव’ चलिरहेको छ।
सोमबार भने फरक दृष्य देखियो। प्रमुख अतिथिको रूपमा आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी स्टेजमै छमछमी नाचे। उनले स्टेजमा नाचेसँगै दर्शकको हुटिङ र तालीको गडगडाहटले एकछिन रौनकता छायो।
चन्द्रागिरी महोत्सवमा आएका गायक सरोज लामिछानेको गीतमा नेता केसी छमछमी नाचेका हुन्। नाचपछि उनी यतिकै रोकिएनन्। सुरू गरे आफ्नो सम्बोधन।
सम्बोधनको क्रममा उनले सरकारका गतिविधि र समसामयिक विषयबारे उठान गरे।
उनले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गरे। विधेयक खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने उनले जिकिर गरे।
नेता केसीले संघीयता क्यान्सर रोग जस्तै भएको र यसको कुनै तुक नरहेकाले यसलाई खारेजी गर्नुपर्ने जरुरी रहेको बताए।
सुरूदेखि नै संघीयताको विपक्षमा वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘अहिले संघीयताको विषयमा अरु दलको पनि ओठ मुख सुकेको छ अन्य दललाई पनि यो खासै स्वीकार्य छैन। पहिले फसेको हुनाले उम्कन नसकेको मात्र हो।’