नेकपाका नेता तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवलको जीतगढी किल्लाप्रति कांग्रेसको धारणा माग गरेका छन्।
प्रदेशसभा ५ को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले जीतगढीका अतिक्रमित घर हटाउँदा आफू बुटवलको मेयर भएकोबेला नेपाली कांग्रेसबाट मुद्दा दिन लगाएको स्मरण गर्दै अहिले प्रधानमन्त्रीलाई कालोझण्डा देखाउनेलाई पनि नेपाली कांग्रेसबाट कारबाही नगर्न माग गर्नुले कांग्रेसको जीतगढीप्रतिको धारणा स्पष्ट नभएको बताए।
उनले जीतगढी राष्ट्र र राष्ट्रियतासँग जोडिएको स्थल भएको भन्दै त्यस्तो स्थलमा कालो झण्डा प्रदर्शन गर्नुलाई राजनीतिक संस्कार मान्न नसकिने बताए।
बैठकमा विशेष र शून्य समय लिएर बोल्दै प्रदेश सांसदहरूले विभिन्न गुनासा, माग र सुझाव राखेका थिए।
सांसद कुलप्रसाद पोखरेलले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा बर्दियामा मनाउन लागिएको महोत्सवलाई पनि आवश्यक सहयोग गर्न माग गरे।
प्रदेशसभा सदस्य भगवतीदेवी भण्डारी र अष्टभूजा पाठकले सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा भैरहवा–लुम्बिनी सडक खण्डमा उड्ने धूलो नियन्त्रण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।
प्रदेशसभा सदस्य सरस्वती गौतमले विद्यार्थी भर्ना अभियानलाई दुर्गम र विपन्न परिवारमा समेत लैजानुपर्ने बताइन्।
त्यस्तै, प्रदेशसभा सदस्य कमलादेवी विकले संविधानलाई चुनौती दिँदै अहिले पनि जातीय विभेद र छुवाछूत जस्ता घटना जारी रहेको भन्दै आगामी दिनमा त्यस्ता घटनाहरू नहोस् भन्नका लागि सरकारले सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्न माग गरिन्। आजको बैठकमा प्रदेशसभा सदस्यहरू इन्द्रप्रसाद खरेल,चिन्तावती कुर्मीले पनि विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।
आजको बैठकमा प्रदेश लोकसेवा आयोग गठन काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश अन्तर्गतका गाउँ सभा/नगरसभाको कार्य सञ्चालन, सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।