राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै लैजाने पार्टीको नीति रहेकाले तदअनुरूपको कार्ययोजना बनाई क्रियाशील हुन पार्टीको विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँगको बैठकमा विभागीय गतिविधि, पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरू लगायतका विविध विषयमा छलफल गरेका छन्। त्यसअवसरमा उनले विभिन्न विभागका गतिविधि र भावी योजनाबारे ब्रिफिङ समेत गरेका थिए।
बैठकमा अध्यक्ष लिङ्देनले ठूला र पुराना दलहरूप्रति जनताको विश्वास खस्कँदै गएको र नयाँ भनिनेहरू पनि दिशाविहीन भइरहेको अवस्थामा राप्रपा जनभावना अनुरूपको भरोसायोग्य शक्ति बन्नसक्ने दृष्टान्त प्रस्तुत गरेका थिए।
‘राप्रपा आन्दोलनमा छ, पार्टीका हरेक गतिविधिहरू आन्दोलन केन्द्रित हुनेछ,’ अध्यक्ष लिङ्देनले भने।
राप्रपाले यसपटक राजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनको एउटा अङ्गको रूपमा मनाउने र पार्टीका सबै संयन्त्रलाई राजाको जन्मदिनमा सरिक हुन सर्कुलर समेत गरेको छ।
‘राजा र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्नु राजसंस्था पक्षधरहरूको धर्म हो, सोही अनुरूप राप्रपाले यसपटक राजाको जन्मदिनलाई विशेष ढंगबाट मनाउन लागेको हो,’ सचिवालयका एक सदस्यले भने।