प्रदेश नम्बर २ को महोत्तरीस्थित औरही नगरपालिका कार्यालयमा शनिबार साँझपख तोडफोड भयो।
आर्थिक वर्ष नजिकिएकोले योजना कार्यान्वयनमा धेरै समय दिनुपर्ने र नगरसभा नजिकिएकोले विदाको दिन पनि कर्मचारीहरु नगरपालिकामा काम गरिराखेका थिए।
अचानक कार्यालयमा १०/१५ जना मानिसहरु आए। कसैले कम्प्युटर तोडफोड गरे त कसैले टेबुमा भएको कागजात च्यातिदिए। यति मात्र होइन, काम गरिराखेका ईञ्जिनियरको ल्यापटप खोसेर लगेको मेयर सुनिलकुमार यादवले जानकारी दिए।
‘ईञ्जिनियरसावको ल्यापटप लगेछन्,’ घटनाबारे जानकारी दिँदै उनले भने, ‘कागजात पनि च्यातेछन्। सिसी क्यामेरा फुटेज भएको सफ्टवेयर पनि लगे।’ मेयर यादवका अनुसार शनिबार राती प्रहरीलाई खबर गरेर मुचुल्का उठाइयो।
सरकारी सम्पत्ति तोडफोड गर्ने तथा कागजात लुट्नु अराजकता भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उनले बताए। घटना किन भएको रहेछ? मेयर यादव भन्छन्, ‘यो राजनीतिक मुद्दा बनाउनकै लागि योजनावद्ध तवरले घटाइएको हो।’
कसले गर्यो त नगरपालिका कार्यालयमा तोडफोड? यसको जवाफ खोज्न टाढा जानुपरेन। किनभने घटनाको जिम्मा नगरपालिकाकै उममेयर रेणु झाले लिएकी छन्। ‘उपप्रमुखले नै घटनाको जिम्मेवारी लिनुभएको छ। तोडफोड गर्नेलाई बचाउन खोज्नुहुन्छ,’ मेयर यादवले भने।
घटना यतिमै सकिँदैन। उपप्रमुख झाले शनिबार पनि कार्यालयमा काम गरिएकोले तोडफोड गर्नु परेको बताएको मेयर यादव दाबी गर्छन्। मेयर यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयर झा राजपाबाट उमेद्वार थिइन्।
आफ्नै नगरपालिकाको कागजात च्यात्न र कम्प्युटर तोडफोडमा किन संलग्न हुनुपरेको? भन्ने सेतोपाटीको प्रश्नमा उपमेयरको सल्लाहकार ज्ञानेन्द्र झा (ज्ञानु) ले नगरपालिकाभित्र भ्रष्टाचार रोक्न खोजेको दाबी गरे।
‘उपमेयर झाको नेतृत्वमा हामी नगरपालिका गएका थियौं। नगरपालिकामा बढेको भ्रष्टाचार रोक्न हामी गएका हौं,’ ज्ञानेन्द्रले सेतोपाटीसँग भने। विदाको दिन शनिबार मेयरले आफू निकटका ठेकेदार राखेर गलत काम गर्न लागेको जानकारीका आधारमा उपमेयरको टोली नगरपालिका पुगेको उनको दाबी छ।
मेयरले भनेजस्तो आफूहरुले नगरपालिकामा तोडफोड नगरेको उनले बताए। ‘एउटा कम्प्युटर र ल्यापटप फ्याँके पनि कागजात च्यातेको छैन,’ उनले भने, ‘मेयरसावले लगाएका आरोप निराधार हुन्।’
उपमेयरका सल्लाहकार र प्रहरीको भनाइ मिलेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक ईश्वर कार्कीसँग सोध्दा उनले घटनास्थलबाट तोडफोड गरिएका दुइटा कम्प्युटर बरामद गरिएको बताए।
‘घटनामा दुई पक्षका कुरा भिन्नाभिन्नै छ,’ उनले भने, ‘एक पक्षले कार्यालय समयमा कर्मचारी उपस्थित नहुने, काम नगर्ने अनि राती काम गर्ने नियत राम्रो भएन भनेको छ। अर्को पक्षले दिउँसो मात्रै काम गरेर नभ्याइएकोले साँझ पनि समय दिनुपरेको बताएको छ।’