जानकी मन्दिर तोडफोड र राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान प्रकरणमा मुद्दा खेपिरहेकाहरूलाई जिल्ला अदालत धनुषाले सफाइ दिएको छ।
चार वर्षदेखि जानकी मन्दिर तोडफोड र राष्ट्रपति भण्डारीको अपमान गरेको भन्दै मुद्दा खेपिरहेकाहरूलाई न्यायधीश राजेश कटवालको एकल इजलासले आइतबार सफाइ दिएको हो। उनीहरूलाई प्राचीन सम्पदा तोडफोडको मुद्दा थियो।
तेस्रो मधेश आन्दोलन उत्कर्षमा रहेका बेला २०७२ को विवाहपञ्चमीका दिन जानकी मन्दिरमा पूजाअर्चनाका लागि राष्ट्रपति भण्डारी गएकी थिइन्।
तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले मन्दिरमा ढुंगामुढा गरेका थिए।
मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि जाहेरीको आधारमा १० जनाविरूद्ध प्राचीन सम्पदा तोडफोड गरेको भन्दै मुद्दा दर्ता गराइएको थियो ।
मुद्दा खेपिरहेका १० जनामध्ये १ जनामाथि मुद्दा ठहर हुन सकेन भने एक जनाको अभियुक्तको मृत्यु भइसकेको छ।
बाँकी रहेका आठैजनालाई जानकी मन्दिर तोडफोडमा संलग्न नरहेको भन्दै अदालतले सफाइ दिएको हो।