जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।
बिहीबार सूचना जारी गर्दै कार्यालयले अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभए सम्मका लागि बन्द गरिएको जानकारी दिएको हो।
२५ गतेदेखि लागू हुनेगरी नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरणसँगै अन्य सेवा बन्द गरिएको प्रशासनले जनाएको छ।
सुर्खेतमा समेत कोरोना संक्रमितको दर नघटेकोले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।
जिल्लामा साउन २० गतेदेखि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सव गर्न रोक लगाइएको थियो।
कार्यालयहरूमा अत्यधिक रूपमा सेवाग्राहीको भीड लाग्न थालेपछि जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए।
कर्णालीका थप ४ जनामा कोरोना
कर्णाली प्रदेशमा बिहीबार ४ जना कोरोना संक्रमित थपिएका छन्।
सुर्खेत, दैलेख, जुम्ला र मुगुका १/१ जना महिलामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
महाशाखा अनुसार प्रणाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १ जना, दैलेखको महाबु गाउँपालिकाका १ जना, जुम्लाको कनकासुन्दरी गाउँपालिकाका १ जना र मुगुको खत्याड गाउँपालिकाका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ९ सय ६० पुगेको छ।
तीमध्ये १ हजार ८ सय ८ जना निको भइसकेका छन् भने १४६ जना विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेको स्वास्थ्य महाशाखाले जनाएको छ।