पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाहक भएको आरोप लगाएका छन्।
उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली व्यक्तिगत रूपमा आफूलाई मनपर्ने मानिस भएकोसमेत उल्लेख गर्दै उनले व्यक्तिभन्दा प्रवृत्तिगत मुद्दा देशको समस्या भएको बताएका छन्।
पछिल्लो समय प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति टिप्पणी गर्दै आएका भट्टराईले नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला गए राति गरेको ट्वीटमा पनि प्रधानमन्त्रीको थप आलोचना गरिएको छ।
‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो,’ भट्टराईले भनेका छन्, ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिबेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो।’
उनले यस्ता मुद्दा एउटा पार्टी विशेषको मात्र नहुने पनि बताएका छन्।
‘यो एउटा पार्टीको मुद्दा मात्र हैन। कुनै पनि वाहनामा यसलाई काँध थाप्ने गल्ती नगरौं,’ भट्टराईले भनेका छन्।
गत कात्तिक २८ गतेको नेकपा सचिवालय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेपछि विवाद जारी छ।
यसबारे छलफल गर्न र ती आरोपबारे मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका छन्। प्रधानमन्त्रीले सरकारको लोकप्रियता देखेर काम नभएकाहरू तर्सने गरेकोसमेत बताउने गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीमाथि पार्टीभित्रका निर्णय कार्यान्वयन नगरेको आरोप छ।