नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहले काठमाडौंमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ।
ललितपुरमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो।
मंगलबार सुरू भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिने छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए। मुलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरि नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरू कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे।
‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउदै पार्टी अध्यक्ष केपी ओली ले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौ । पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेबारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारवाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौ कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्छ। यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ। त्यस्तो खालको कुरा महसुस भईसकेपछि हामी यो ठाउँमा आईपुगेका हौ,’ उनले भने।
उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफूहरूले लिएको बताए। उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारवाहीहरु कुनैपनि हालतमा सर्वस्वीकार्य छैन र विरोध योग्य छ भन्ने संदेश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गरे। पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताईरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेताकार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए।