क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा संलग्न रहेको भनिएका चार जना मारिएका छन्।
प्रहरी प्रमुख लियोन चार्ल्सले राष्ट्रपति जोभेनल मोइसेको हत्यामा संलग्न रहेको समूहका चार जना मारिएको बताएका छन्। उनीहरू प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन्।
'प्रहरीहरू अझै पनि आक्रमणकारीसँग लडिरहेका छन्,' चार्लसले बिहीबार टेलिभिजन ब्रिफिङमा भने,'घटनास्थल छाडेपछि हामीले उनीहरूको भाग्ने बाटो छेकेका थियौं। त्यसबेलादेखि हामी उनीहरूसँग लडिरहेका छौं।'
५३ वर्षीय राष्ट्रपति मोइसेको आफ्नै घरमा बुधबार गोली हानेर हत्या गरिएको थियो। उनकी श्रीमती भने घाइते भएकी थिइन्।
प्रहरीले हत्यामा संलग्न दुई जना आक्रमणकारीलाई पनि नियन्त्रणमा लिएको चार्ल्सले बताए।
'उनीहरूलाई कि मारिन्छ वा बन्धक बनाइन्छ,' प्रहरी प्रमुख चार्ल्सले भने। ती आक्रमणकारीहरूले तीन जना प्रहरीलाई पनि नियन्त्रणमा लिएका थिए। तर बुधबार नै उनीहरू छाडिएका थिए।
मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।
गत फेब्रुअरीमा मोइसेको कार्यकाल सकिइसकेको तर उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै हजारौं मानिसले सडकमा प्रदर्शन गरेका थिए।
केही समयअघि मोइसेले नै आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीहरूले त्यसलाई विफल पारेको बताएका थिए।
उनको हत्या कसले गर्यो भन्ने खुलिसकेको छैन। बुधबार बिहानै स्पेनिस भाषा बोल्ने केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
जोसेफले अब राष्ट्र प्रमुखको कार्यभार आफूले सम्हाल्ने पनि बताएका छन्। उनले मानिसहरूलाई शान्त रहन पनि आह्वान गरेका छन्।
जोसेफले राष्ट्रको नाममा सम्बोधन गर्दै संकटकालको घोषणासमेत गरेका थिए। उनले एपीसँगको अन्तर्वार्तामा यो घटनामा अन्तर्राष्ट्रियस्तरबाट अनुसन्धान गर्न माग गरेका छन्।