एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल समूहलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका छन्।
नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका हुन्।
उनले नेपाल समूहको नाम नलिइकन सबैलाई माफी दिएको घोषणा गरेका थिए।
‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस् मैले माफी दिएँ,’ उनले भने।
बुधबार मात्रै ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए।
‘हामी हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ उनले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन।’
ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका थिए।
उनले कम्युनिष्ट आन्दोलन काँक्राको चिचिलोजस्तो औंलो देखाउँदैमा झर्ने वा कर्कलाको पानीजस्तो एकातिर ढल्किँदैमा पोखिने नभएको दाबी गरे।
पुष्पलालको स्मृति दिवसमा पार्टीले तुल्सीलाल अमात्य प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको थियो।