नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर १ मा भएको निर्वाचनबाट हीरा केसीको प्यानल नै विजयी भएको छ।
सभापति शेरबहादुर देउवा समूहका केसी देवदह नगरपालिकाका मेयर पनि हुन्।
उनी यसअघि पनि क्षेत्रीय सभापति थिए।
क्षेत्र नम्बर १ मा देउवा समूहबाट केसी र पौडेल समूहबाट विश्वनाथ यादवले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।
जसअन्तर्गत सभापतिमा ३९६ मत ल्याएर केसी विजयी भएका हुन् ।
यादवले भने २१५ मत प्राप्त गरेका छन्। त्यस्तै दुईवटा सचिव पदमा पनि केसी प्यानलकै बैजनाथ साहनी र बिजय गुरुङ बिजयी भएका छन्। साहनीले ३५२ र गुरुङले ३६१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
यादव समूहबाट सचिव पदका उमेदवारहरू विनोद न्यौपानेले २४६ र अर्जुन पोखरेलले २१२ मत ल्याएका थिए।
सहसचिवमा पनि केसी प्यानलकै नरबहादुर थापा र मोहम्मद रजा पठानसँगै सबै क्षेत्रीय सदस्यहरु बिजयी भएका छन्। उक्त क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरुको मतगणना भने जारी छ।
क्षेत्र नम्बर ३ मा दुई समूहबीच विवाद भएको थियो। सोमबार मतदान स्थगित भएकोमा आज मतदान गर्ने कार्यक्रम छ। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको थियो।
क्षेत्र नम्बर २ को मतपरिणाम भने आइसकेको छैन।
क्षेत्र नम्बर ४ मा मुकेश यादव र ५ मा बसिउल्लाह मुसलमान सभापतिमा सर्वसम्मत चयन भएका छन्। उनीहरू महामन्त्री शशांक कोइराला निकट छन्।