नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अजयबाबु शिवाकोटीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिवाकोटीले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने विधानको व्यवस्था छ। मनोनित ३३ सहित विभिन्न कलष्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै समग्रमा १६८ सदस्यीय कांग्रेस केन्द्रीय समिति बन्छ।
शिवाकोटी दोलखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
उनी नेपाल प्रेस युनियनका महासचिवसमेत छन्। उनले अब पत्रकारिताभन्दा पनि राजनीतिमा सक्रिय हुने बताए।
‘म कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेवारी दिँदैछु। यतिन्जेल पत्रकारिता गरेँ। प्रेस युनियनको महासचिव पनि छु। अब म पार्टीमा लागिसकेकोले फेरि सक्रिय रूपमा प्रेस युनियन वा पत्रकारितामा फर्किन्न, पार्टी राजनीतिमै सक्रिय हुन्छु,’ शिवाकोटीले भने।
उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबीसमेत गरेका छन्।