दाङको निर्वाचन क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संस्थापनइतर पक्षका खड्का ४३८ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
बुधबार दिउँसो प्राप्त मत परिणाम अनुसार खड्काका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गरेका छन्।
त्यस्तै, सभापति पदकै अर्का उम्मेदवार किरण शाहले ६८ मतमात्रै प्राप्त गरेका छन्। उनले एकल रूपमा उम्मेदवारी दिएका थिए।
नेतृत्व चुन्न यहाँ मंगलबार मतदान भएको थियो।
दाङको क्षेत्र नं. ३ मा कुल ८४७ मतदातामध्ये ८४४ मत खसेको थियो।
नेपाली कांग्रेसभित्र यो जिल्लाको सबभन्दा बढी मतदाता भएको क्षेत्र हो।
जगतकै प्यानलबाट सचिवमा शोभाकर सापकोटा ४६० र पूर्णबहादुर खत्री ४१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनीहरूका प्रतिस्पर्धी सुरेन्द्र प्यानलका रबी बुढाथोकी ३६५ र भेषराज डाँगीले ३०५ मत प्राप्त गरेका थिए।
त्यस्तै, जगतकै प्यानलबाट सहसचिव पदमा भीमकान्त भट्टराई ४४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भएका छन्।
उनीहरूका प्रतिस्पर्धी सुरेन्द्र प्यानलका भूपबहादुर केसी ३७३ र तनुजसिंह वलीले २६४ मत प्राप्त गरेका थिए।
योसँगै दाङका तीन वटै निर्वाचन क्षेत्रका परिणाम सार्वजनिक भएको छ।
क्षेत्र नं. २ मा भीमप्रकाश खड्का र क्षेत्र नं. १ मा भेषराज पाण्डे निर्वाचित भएका थिए।
जगतमात्रै संस्थापनइतरका हुन् भने अन्य दुई जना संस्थापन पक्षधर हुन्।