स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग खोप सहजीकरणबारे छलफल गरेका छन्।
बिहीबार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाविरूद्धको खोप अभियानको हालको विवरणबारे जानकारी लिँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरूको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायसँग समन्वय गरी चाँडै वडा अध्यक्ष र गाउँपालिकाका प्रमुखहरूलाई बोलाएर छलफल गर्न आग्रह गरे।
उनले गाउँहरूबाट कोरोनाविरूद्धको खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने बताए।
मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरूले कोरोनाविरूद्धको खोप लक्षित समुदायमा पुर्याउन स्थानीय रूपमा योजना बनाएर लागु गर्नुपर्ने बताए।
उनले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाविरूद्धको खोपको मात्रा अपुग भए तत्काल केन्द्रीय सरकारसँग माग गर्न आग्रह गरे।
स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘मेरो सिडिओ साबहरूलाई अनुरोध र उहाँहरूमार्फत्, म के भन्न चाहन्छु भन्दा त्यहाँको स्थानीय स्वास्थ्य निकायमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायसँग समन्वय गरेर एक/दुई दिन भित्रैमा एउटा मिटिङ राखेर आवश्यक पर्दा त्यो ठाउँमा गाउँपालिकाका प्रमुख, सकिन्छ वडा अध्यक्ष, नभए कम्तीमा पनि स्वास्थ्य क्षेत्रका मान्छे र गाउँपालिकाका प्रमुखहरूलाई बोलाएर काम गर्नुपर्यो।’
मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरूलाई कोरोनाविरूद्धको खोप गाउँ तहसम्म पुर्याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बार अनुसार नभई नियमित खोप सञ्चालन गर्न निर्देशन दिए।
उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्याउन आग्रह गरे।
मन्त्री खतिवडाले गाउँ/गाउँका जनतालाई खोप लगाउन आउँदो निर्वाचनमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताए।
स्वास्थ्य मन्त्री खतिवडाले भने,‘सभा सम्मेलनन, अलिकति भिडभाड हुने ठाउँ, बस स्टप, मेलापात सप्ताह, पुराण यस्ता अनेकौं ठाउँ छन्, त्यो ठाउँ थाहा पाएपछि हामी त्यहाँ गएर डेस्क राखिदिन सक्छौं, जस्तो अहिले चितवनमा सम्मेलन हुँदैछ।चितवनमा आजै बेलुकाबाट सक्नुहुन्छ भने १०/१५ ठाउँमा डेस्क राखिदिनुस्, मलाई लाग्छ त्यहाँ केही नभए पनि २०/५० हजारले थप खोप सुविधा लिनेछन्।’
सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरूद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ।
यस्तै, खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ।
अहिलेसम्म कूल जनसंख्याको ३० प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ।
सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ।