नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र आफूहरूले भाग नभई न्याय खोजेको बताएका छन्।
सभापतिमा पराजित नेता शेखर कोइरालाले सिंहदरबारअगाडि बसेरा होटलमा आज राखेको भेलामा बोलेका थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गर्न नहुने बताए।
‘पालिका, क्षेत्र र जिल्लामा हामी मुख्य शक्ति हो,’ शेखर प्यानलबाट महामन्त्री जितेका थापाले भने, ‘नेतृत्वले ४० प्रतिशत मत ल्याएको शक्तिलाई वेवास्ता गरेर पार्टी चल्दैन।’
आफूहरूले सभापति शेरबहादुर देउवालाई सफल बनाउन सहयोग गर्न खोजेको पनि उनको भनाइ थियो। तर नेतृत्वले सबैलाई समेटेर नलैजाने हो भन्ने त्यो सैह्य नहुने पनि उनले बताए।
सभापति देउवाले गुट चलाउन नहुने उनको भनाइ थियो।
‘पार्टीभित्र विभिन्न समूह हुन्छ। छलफल पनि हुन्छन् तर सभापतिले बेग्लै गुट चलाउन हुन्न,’ उनले भने।
फरक प्रसंगमा उनले चुनावसम्म गठबन्धन रहने तर कांग्रेस एक्लै लड्न सक्षम रहेको धारणा राखेका थिए।
‘गठबन्धन चुनावसम्म रहन्छ तर कांग्रेस एक्लै लड्ने हैसियत राख्छ। त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ,’ उनले भने।
कोइरालाले १४ औं महाधिवेशन समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न आफ्नो प्यानलबाट उम्मेदवार भएकाहरूसँग आज छलफल गरेका हुन्।
छलफलको सुरूवात गर्दै कोइरालाले सभापति देउवाले कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनीत गरेको हो भन्ने प्रश्न राखेका थिए।
देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा १३ जना मनोनीत गर्दा शेखर पक्षका एक जना पनि समावेश गरेका छैनन्।
उपसभापतिमा पराजित चन्द्र भण्डारी र महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल पनि केन्द्रीय सदस्य मनोनीत भएका छैनन्। तर सभापति देउवाले आफू पक्षबाट सहमहामन्त्री पराजितलाई पनि केन्द्रीय सदस्य बनाइसकेका छन्।