गृहमन्त्री रमेश लेखकसहित नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पुरानो हतियार खरिद गर्न लागिएको विषयमा प्रष्टीकरण दिएका छन्।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सांसदहरूले पुरानो ठेक्का ब्युँताएर हतियार खरिद गर्न लागिएको विषयमा सञ्चार माध्यमहरूमा प्रकाशित समाचारबारे गृह मन्त्रालय र प्रहरी संगठनका प्रमुखहरूलाई प्रश्र गरेका थिए।
‘हतियार प्राथमिकता हो कि बस्ने/खाने कुरा प्राथमिकता हो,’ गृहमन्त्री र दुवै संगठनका महानिरीक्षकलाई माओवादी केन्द्रका सांसद गोपी बहादुर सार्की अछामीले प्रश्न गरे, ‘पर्याप्त रासन नपाइरहेको अवस्थामा पुरानो ठेक्का ब्युँताएर हतियार खरिद गर्न खोजेको विषय के हो?’
आमन्त्रित सांसद मायाप्रसाद शर्माले पनि प्रहरीका लागि हतियार खरिद प्राथमिकता हो कि पूर्वाधार व्यवस्थापन प्राथमिकता हो? भन्दै प्रश्न गरेका थिए।
सांसदको प्रश्नपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नियम विपरीत हतियार खरिद नगरिने बताएका थिए।
‘नियम विपरीत हतियार होइन केही पनि खरिद हुँदैन,’ अर्यालले भने, ‘औषधिको गोली खरिद त हामीले खरिद ऐन बमोजिम गर्नुपर्छ भने यो (हतियारका) गोलीहरू कुनै शंका गर्नु पर्दैन।’
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले पत्रपत्रिकामा आएजस्तो गृहमन्त्री र सचिवले हतियार खरिदका सम्बन्धमा कुनै निर्देशन नदिएको स्पष्ट पारे।
‘न गृह मन्त्रालयको सचिव ज्यूबाट निर्देश भएको छ न मन्त्रीज्यूबाट नै,’ थापाले भने, ‘खरिद गर्ने विषय भनेको निर्देशनले गर्ने विषय पनि होइन। यो त एउटा सिस्टमेटिक र सदनले बनाएकै ऐन नियम र प्रचलित कानुनबाट गर्ने हो।’
उनले नयाँ बजेटको रातो किताबमै हतियारको ठेक्काको विषय परेको उल्लेख गरे।
‘बजेटको प्राथमिकीरणमै आएको छ,’ थापाले भने, ‘हतियारका विषय पनि हाम्रो सिलिङभित्र आएका विषयहरू हुन्। हामीलाई आवश्यकता भनेको 'नन लिथल वेपन' हरू हुन्। जस्तै अश्रुग्यास सेल भयो अनि रबर बुलेटहरू। त्यसपछि ब्यारिकेटिङ भेहिकलहरू भयो। ट्रुप्स क्यारिअर भेहिकलहरू भयो। यी सामानहरू हाम्रो संगठनको प्राथमिकीरणभित्र भएकोलाई नेपाल सरकारबाट बजेट प्राप्त भएको छ। यसलाई पारदर्शी जबाफदेही जिम्मेवारीपूर्ण ढंगले गर्नेछौं।’
गृहमन्त्री रमेश लेखकले पुरानो हतियारको टेण्डर अहिल ब्युँताउने कार्य ‘बिल्कुलै’ नहुने बताए।
‘हतियारको विगतमा टेन्डर गरेको अहिले फेरि त्यसलाई ब्युँताउने अथवा त्यसलाई अगाडि बढाउने कुरा बिल्कुल हुँदैन,’ लेखकले भने, ‘पुराना कहिले ठेक्का गरिए, कहिले स्थगन गरिए, तीन/ चार वर्ष, दुई वर्ष पहिला खोलिएका ठेक्काहरू अहिले त्यसलाई निरन्तरता दिने, त्यस अनुसार हतियार खरिद गर्ने काम हुँदैन।’
उनले अहिले सरकारले हतियार खरिदका लागि बजेट विनियोजन गरिएको र त्यसअनुसार चालु आर्थिक वर्षमा बजेटको सीमाभित्र कानुन बमोजिम पारदर्शी ढंगले हतियार खरिद गरिने बताए।
‘हतियार प्राथमिकता हो कि भौतिक पूर्वाधार प्राथमिकता हो भन्ने कुरा उठेको छ,’ समितिमा गृहमन्त्री लेखकले भने, ‘दुइटै प्राथमिकता हो। भौतिक पूर्वाधार पनि चाहियो। बोर्डर आउट पोस्ट (बिओपी) का भवनहरू बनाउनु परेको छ। विभिन्न ठाउँमा चौकी बनाउनु परेको छ। कतै प्रहरीका लागि सुत्ने ठाउँ छैन। उचित शौचालयको व्यवस्था छैन। राम्रोसँग बस्ने स्थिति छैन। यी पूर्वाधारहरूको निर्माण पनि आवश्यक छ। तर सँगसँगै हतियार पनि आवश्यक छ।’
मन्त्री लेखकले सांसदहरूलाई व्यङ्गात्मक शैलीमा सम्झाउने कोसिस गरे।
‘अब टिचरलाई त डस्टर र चक नै किन्नु पर्ने होला नि! विद्यार्थीलाई त कापी किताबै किन्नुपर्ने होला,’ लेखकले भने, ‘शिक्षकलाई हतियार किन्ने कुरा र पुलिसलाई चक, डस्टर किन्ने कुरा गरेको भए अचम्म मान्नु पर्थ्यो। अब पुलिसलाई हतियार नदिएर के दिने होला?’
गृहमन्त्री लेखकले केही समयअघि टोखामा भारतीय अपराधी समाप्त गोली चलाउनुपरेको उदाहरण दिए।
‘एक जना भारतबाट भागेर आएका अपराधी जसले पहिला नेपालमा आएर हत्याका काम र अपराधहरू गरिसकेका थिए। उनलाई समात्नका लागि प्रहरी गयो गोली चलाउनु पर्यो’, लेखकले भने, ‘सुनसरीमा दुई क्विन्टलभन्दा बढ्दा गाँजा गाडीमा राखेर भागिराखेको अपराधीलाई प्रहरीले समाप्त गोली चलाएर रोक्नु पर्यो। सीमामा कतिपय ठाउँमा हतियार सहित अपराधी पक्राउ गर्नुपर्छ। अपराधीलाई पुलिसँग हतियारी छैन भन्ने पर्यो भने के होला?’
उनले आवश्यक हतियार किन्ने बताए।
तीनकुनेमा राजावादीको प्रदर्शनमा संविधान र व्यवस्थालाई उल्टो फर्काउने गतिविधि भएको अवस्थामा प्रहरीले न्यनूतम बल प्रयोग गरेको उनले उल्लेख गरे। साथै प्रहरीले नयाँ खरिद नगरेको अवस्थामा डेट एक्सपायर भएकै अश्रुग्यास हान्नुपरेको बताए।
‘खाली ठट्टैमा भनेको, अब मिठाइको बट्टा बोकेर जाँ भनेर प्रहरीलाई भनुँ, त्यो अपराधी मिठाइ खाएर कहिलेकाहीँ नमान्ने खतरा हुन्छ,’ उनले भने, ’कहिलेकाहीँ त हतियार बोकेर जानुपर्ने होला पुलिसले। मिठाइले काम चल्ने भए त्यही किनिन्थ्यो होला। कहिलेकाहीँ हतियार चाहिन्छ।’