केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटार जग्गा घोटाला प्रकरणको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
ब्युरोले तीन सय बढी व्यक्तिलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बिहीबार सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
तर, ब्युरोले प्रतिवादी कति जना र बिगो कति राखेर अनुसन्धान प्रतिवेदन तयार पारिएको भन्नेबारे खुलाएको छैन।
यस्तै, प्रतिवादी बनाइएका र पक्राउ पूर्जी जारी भएका कसैलाई पनि पक्राउ नै नगरी अनुसन्धान प्रतिवेदन बुझाइएको छ।
अनुसन्धानको विषय भन्दै ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रतिवादी संख्या र बिगोबारे बताउन मानेनन्।
‘अनुसन्धानमा भएका कतिपय कुराहरू भन्न मिल्दैन, अनुसन्धान प्रतिवेदन बुझाइएको हो,’ महतोले सेतोपाटीसँग भने।
प्रतिवादी बनाइएका व्यक्तिहरू कोही पनि पक्राउ नगरी अनुसन्धान प्रतिवेदन बुझाइएकोबारे उनले भने, ‘प्रतिवादीहरू सबै पक्राउ गर्नुपर्छ भन्ने अनिवार्यता छैन।’
बालुवाटारस्थित ललिता निवासको १४२ रोपनी ६ आना जग्गा व्यक्तिको नाममा गएको र त्यसरी व्यक्तिको नाममा पुर्याउँदा भूतपूर्व मन्त्री, सचिव, बिचौलियालगायतको संलग्नता रहेको देखिएपछि ब्युरोले अनुसन्धान थालेको थियो।
ब्युरोले दुई वर्ष लगाएर ललिता निवासबारे अनुसन्धान सुरू गरेको हो।
ललिता निवास प्रकरणमा पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।
बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू अहिले थुनामा छन्।
पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालो धन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन्।
ती सबैको नाममा गएको सम्पत्तिको मूल्यांकन भइरहेको छ। तर, अनुसन्धानमा रहेकाले बैंकबाट ऋण लिएर अर्को बैंकमा ऋण तिरेको देखिन्छ। बस्न्यातले आर्जन गरेको सम्पत्ति कहाँ छ भन्ने यकिन गर्न विभागका अधिकारीहरू लागिपरेका छन्।
बस्न्यातका परिवारले ठूलो रकम बैंकहरू कर्जा निकालिरहने गरेको देखिएको छ। ‘एउटा बैंकबाट निकालेको कर्जा अर्को बैंकबाट तिर्ने गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर, यति ठूलो रकम कर्जा किन निकालिन्छ भन्ने पाटो शंकास्पद छ।’
ललिता निवास प्रकरणमा तानिएपछि बस्न्यातविरूद्ध अख्तियारले नै सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि विभागले लेखी पठाएको थियो।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए। उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए। ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ। दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरु डिर्पोट गर्छौ। सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरुले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पुरा भएको अवस्था भयो भने चाहीँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ,’ पौडेलले भने।
उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ् हुनसक्ने बताए।