राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका कारण नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको बताएका छन्।
बिहीबार धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
दार्चुलामा महाकालीमाथि तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनामा सरकारले सत्यतथ्य बुझेर दोषीलाई कारबाही गर्न नसकेको लिङ्देनले बताए।
घटना घटेको लामो समय भए पनि सरकारले तुइन काटेर खसाल्ने भारतीय एसएसपीविरूद्ध कारबाहीका लागि पहल नगरेको उनको भनाइ छ।
‘जयसिंह धामी महाकालीमा बगेको कति दिन भयो, सरकार कहाँ छ ? भन्दै उनले प्रश्न गरे।
‘मेरो नागरिक तिम्रो सुरक्षाकर्मीको ज्यादति र लापरबाहीका कारणले महाकालीमा बग्यो, त्यो सुरक्षाकर्मीलाई कारबाही गर समेत हाम्रो सरकारले भन्न सक्दैन,’ उनले भने।
यस्तै निर्मला पन्तको हत्यारालाई पनि सरकारको लापरबाहीका कारण कानुनी दायरामा आउन नसकेको बताए।
‘निर्मला पन्तको बलात्कारपछि हत्या भयो। न्याय कहाँ छ,’ उनले भने।
यस्तै कैलालीमा भुपेन्द्र बडुवालको हत्या भएको दुई महिना पुग्नै लाग्दा पनि अपराधी अझै फरार रहनुमा राज्यकै कमजोरी मानिएको उनको भनाइ छ।
यी घटनाको उदाहरण दिँदै लिङ्देनले विकासको त कुरै नगरौं नागरिकले सामान्य शान्ति प्रत्याभूति समेत गर्न सरकारले नसकेको बताए।
‘३१ वर्षदेखि कांग्रेस, कम्युनिष्टले यो देशमा शासन गरे, यो देशको गरिबी, यो देशको आर्थिक उन्नति प्रगति झन् तल खस्किँदै गयो, जनताहरू गरिब बन्दै गए,’ उनले भने।
उनले अन्य देशसँग तुलना गर्दै ३१ वर्षमा अरू कहाँबाट कहाँ पुगिसक्दा नेपालले प्रगति गर्न नसकेको बताए।
अरू पार्टीका नेताहरूले पैसा कमाउने सजिलो बाटो राजनीतिलाई लिएका कारण देशको हालत यस्तो भएको उनको भनाइ थियो।
भ्रष्टाचार काण्डमा देशका सबै ठूला पार्टी संलग्न रहेको उनको आरोप छ।
प्रधानमन्त्री र मन्त्रीहरू जग्गा, सामान खरिद काण्डमा मुछिए पनि उन्मुक्ति पाइरहेका उनले बताए।