लामो समयदेखि अन्यौलमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) को विवाद समाधान तर्फ गएको छ।
शनिबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औं बैठकले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर शेष घले नेतृत्वको संरक्षक परिषद्ले अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समितिसमक्ष पेश गर्नेछ।
संघको दसौं महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न संरक्षक परिषदले २६ जनवरी २०२२ सम्म निर्वाचन समितिलाई प्रतिनिधिको नाम उपलब्ध गराउनुपर्ने निर्णय गरेको महासचिव हेमराज शर्माले सेतोपाटीलाई जानकारी दिए।
बैंठकले आगामी फेब्रुअरी २८ अर्थात फागुन १५ गते हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको निर्वाचन अगाडि घले नेतृत्वको समितिले प्रतिनिधिको नाम निर्वाचन समितिलाई उपलब्ध गराउने र निर्वाचन समितिले नै चुनाव गराउने निर्णय गरेको छ।
‘संघको दसौं महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ’, शर्माले भने,‘ घले नेतृत्वको समितिले विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पाएको होइन।’
यस्तै समितिले आवश्यक ठानेमा संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्न कानूनी, आइटी लगायतका विशेषज्ञ रहेको स्वतन्त्र समितिहरु गठन गर्नसक्नेसमेत निर्णय गरेको छ।
संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने निर्णय भएको छ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार छन्।
उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।
बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।
सहमति र सहकार्यमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गर्न सहयोग गर्न संघले सबैमा आग्रह गरेको छ।
महाधिवेशनमा मतदान तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेसभेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गर्न सबै महाधिवशेन प्रतिनिधिलाई बैठकले अनुरोध गरेको छ।