श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन्।
इपिएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन्।
सोमबार पार्टीनिकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले इपिएस प्रणाली पास गरेर बसेकाहरूलाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दबाबलाई बेवास्ता गरिरहेको बताए।
मन्त्री श्रेष्ठले इपिएस प्रणाली पास गरेकाहरूलाई आफूले एक हप्ताभित्रै कोरिया पठाउन चाहेको पनि स्पष्ट पारे।
उनले त्यसका लागि कोरियाली समकक्षीसँग फोन वार्ताको प्रयास भइरहेको पनि बताए।
मन्त्री श्रेष्ठले आफूले इपिएस प्रणालीबाट पास गरेकाहरूलाई कोरिया पठाउने कामलाई पहिलो प्राथमिकता दिएको पनि पटक/पटक दोहोर्याए।
उनले भने, ‘असाध्यै सिन्सियर भएर लागेको छु। तपाईंहरू पास हुनुभयो। पास भएपछि मलाई थाहा छ। अघि आफैंले भन्नु भयो–गाउँमा बस्ने अवस्था छैन। कतिपयले त मानसिक औषधि खानेबेला भएको होला। मेरो हातमा हुन्छ भने त म एक हप्तामै सबैलाई उडाइदिऊँ भन्ने पक्षमा छु म। तपाईंहरूलाई रोकेर, दायाँबायाँ गरेर सरकारलाई कुनै फाइदा छैन। त्यसकारणले तपाईंहरूले जुन विश्वास गर्नुभएको छ। त्यो विश्वासलाई एकदमै देखिने गरी प्रयास गरिराखेका छौं।’
मौसमी कामदारलाई पठाउँदा इपिएस पास गरेर बसेका भाइबहिनीहरूको सुन्दर सपना कुठाराघात हुन्छ कि भनेर आफूले रोकेको समेत उनले बताए।
‘अर्को मौसमी कामदारको कुरा निस्केको छ। हेर्नुस्, तपाईंहरूको कारणले गर्दा इपिएसमा पास भएर बसेका भाइबहिनीहरूको कारणले गर्दा सायद मेरो जागिर जाने अवस्थाको पावरको दबाब आउँदा पनि मैले खोलेको छैन। यो कुरामा तपाईंहरू क्लिएर हुनुस्। मलाई यति दबाब थियो कि सिजनल वर्कर चाहिँ छिटो खोल्नु पर्यो। मैले भनें- खोल्ने ओके। नखोल्ने भन्या छैन’, उनले भने, ‘सँगसँगै यो सिजनल वर्कर जाँदाखेरी यो इपिएस पास गरेर बसेका भाइबहिनीहरूको सुन्दर सपना कुठाराघात हुन्छ कि भनेर रोकेको छु। हिजोमात्रै पनि मलाई फोन आएको थियो। केही मान्छेहरू सेटिङमा गइसकेका छन्। तर श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले एक जना पनि पठाएका छैनौं। यो कुरामा ढुक्क हुनुस्।’
यता, पीडितहरूले भने तत्काल कोरिया पठाउने व्यवस्था गर्न मन्त्री श्रेष्ठलाई दबाब दिएका थिए।
लुम्बिनी प्रदेशकी भावना बस्नेतले तत्काल आफूहरूलाई कोरिया पठाउने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठसँग आग्रह गरिन्।
उनले कामदार छनौटमा पनि महिलाहरूमाथि विभेद हुने भन्दै त्यसको अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।
बागमती प्रदेशका अनमोल भट्टराईले कोभिड संक्रमण हुन नदिनेगरी विदेश जानेहरूलाई बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे।