सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्टारसहित ३१ जनामा कोरोना संक्रमण देखिएको र संक्रमण तीव्र गतिले फैलिएको भन्दै सेवा कटौती गरिएको छ।
मंगलबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीशको फुलकोटले कोरोना संक्रमण न्यून गर्न भन्दै माघ ५ देखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
फुलकोटले मौलिक हकसँग सम्बन्धित रिट निवेदन, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, थुनुवाका निवेदन र मुद्दा, हेर्दाहेर्दै र निसुमा रहेका मुद्दा, सरकारवादी मुद्दामा प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ मात्र गर्ने निर्णय गरेको छ।
अदालतमा भिडभाड हुन नदिन आलोपालो मिलाएर अदालतको काम कारबाही गर्ने, टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेसनमा रहेर कार्यसम्पादन गर्न मुख्य रजिष्टारले आवश्यक व्यवस्था मिलाउनुपर्ने फुलकोटको निर्णय छ।
तल्ला अदालतहरूले पनि अवस्था अनुसार सेवा प्रवाहको व्यवस्था मिलाएर जानकारी पठाउन निर्देशित गर्ने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, ०५:१५:००