प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बोलेका असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन्।
मन्त्री बडुले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपाल आयल निगमसम्बन्धी दिएका अभिव्यक्तिमाथि टिप्पणी गरेका थिए।
मन्त्री बडुले असंसदीय शब्द बोलेको भन्दै एमाले सांसदहरूले उठेर विरोध गरेका थिए भने रेकर्डबाट हटाउन माग गरेका थिए। एमाले सांसदहरूको अवरोधले गर्दा बैठक केहीबेरलाई स्थगितसमेत गरिएको थियो।
आजै बसेको दोस्रो बैठकमा सभामुख सापकोटाले मन्त्री बडुले बोलेका असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन्।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनि प्रमुख विपक्षी दलका सदस्यले नियमापत्ति जनाउनुभएको हुँदा मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने।
सभामुखको रुलिङ पछि संसद बैठक सुचारु भएको छ। सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरेका छन्।
मन्त्री बडुले आज 'साउनको महिनामा दृष्टि गुमाएको गोरूले सधैं हरियो देख्छ भन्ने उखान स्मरण गराउँछु' भन्ने अभिव्यक्ति दिएका थिए। ओली प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा डुबेको आरोप मन्त्री बडुको थियो।