टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमी शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने घोषणा गरेका छन्।
सरकारले चुनावको मिति घोषणा गरेको अर्को दिन शुक्रबार खनालले काठमाडौं-६ बाट चुनाव लड्ने सार्वजनिक गरेका हुन्।
४३ वर्षीय खनाल टोखा-१० गोंगबुका बासिन्दा हुन्।
उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।
‘मैले लामो समय शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरें। २०७४ को चुनावपछि तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार भएँ,’ खनालले सेतोपाटीसँग भने,‘हामीले कति काम गर्न खोज्यौं तर संसदले शिक्षा ऐन बनाउन सकेन। यति लामो समयसम्म शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीलाई असर परेको छ।’
आफूले पढेको विषय पनि सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा काम गरेकाले संसदमा गएर नीति निर्माणको काम गर्न चुनाव लड्न लागेको खनालले बताए।
खनालले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्। स्वतन्त्र उम्मेदवारी अभियानमा भने आफू औपचारिक रूपमा नजोडिएको उनले बताए।
काठमाडौं-६ मा २०७४ को चुनावमा नेपाली कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भएका थिए।