राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्पष्टीकरण सोधेपछि चितवन जिल्ला संयोजक धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन्।
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार गत पुस १७ गते सापकोटासँग निर्वाचनको समयमा निष्क्रिय रहेको, पार्टीलाई जानकारी नगराई सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको, अनुमति नलिई जुम बैठक गरेको, स्थानीय सरोकारका विषयहरू पार्टी केन्द्रलाई जानकारी नदिएकोलगायत विषयमा स्पष्टीकरण सोधेको थियो।
‘पुस १८ गते उहाँले स्पष्टीकरण दिनुभयो। लगत्तै राजीनामा पनि दिनुभयो,’ ढकालले भने।
मंसिर ४ को निर्वाचनअघि सापकोटाले सञ्चारमाध्यमलाई कांग्रेसको विद्रोही समूहले चितवन-२ मा रवि लामिछानेलाई सघाउने र चितवन-३ मा उक्त समूहका उम्मेदवार जगन्नाथ पौडेललाई सघाउँदै रास्वपाकी उम्मेदवार जिता बराल फिर्ता हुने बताएका थिए। सापकोटाले राप्रपाका उम्मेदवार विक्रम पाण्डे र आफ्ना सभापतिका बीचमा पनि आन्तरिक सहमति रहेको भन्दै सञ्चारमाध्यमलाई झुठा अन्तर्वार्ता दिएको भन्दै केन्द्रको नेतृत्व असन्तुष्ट थियो। तर सापकोटाले आफ्नो कारणले नै चितवनमा चुनाव जितेको, अन्तर्वार्तामा झुठ नबोलेको भन्दै स्पष्टीकरण दिएको प्रवक्ता ढकालले बताए। पार्टीको बुझाइ भने जिल्ला संयोजक निस्क्रिय बस्दा र पार्टीको नीतिविपरीत अन्तर्वार्ता दिँदा चितवन-३ हारेको भन्नेछ। चुनावपछि पनि स्थानीय मुद्दामा बेवास्ता गरेको र संयोजक निष्क्रिय बन्दा तल्लो तहका समितिले उनको काम गर्नु परेको ढकालले बताए।
‘स्पष्टीकरण प्राप्त भएपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्ने तयारी थियो तर उहाँले राजीनामा दिइहाल्नुभयो,’ ढकालले भने, ‘त्यसपछि बसेको केन्द्रीय समितिले राजीनामा स्वीकृत गर्यो।’
प्रवक्ता ढकालले धेरै पहिलेको विषयलाई अहिलेको जस्तै बनाएर सञ्चारमाध्यमबाट खबरहरू आएको बताए।
पार्टी अहिले संगठन बिस्तारको अभियानमा रहेको भन्दै उनले चितवन जिल्ला संयोजक पनि छिट्टै चयन हुने बताए।
सापकोटा रास्वपाको संस्थापक जिल्ला संयोजक हुन्। उनले मंसिर ४ गतेको निर्वाचनमा आफैं चितवन-३ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए। पार्टी सभापतिले नै उक्त क्षेत्रबाट उम्मेदवार बन्ने तयारी गरेपछि उनी पछि हटेका थिए। पछि पार्टीले उक्त क्षेत्रबाट बराललाई उम्मेदवार बनायो। बराल तेस्रो भए पनि समानुपातिक मतमा उक्त क्षेत्रमा पनि रास्वपा नै पहिलो भएको थियो।
राजीनामाको विषयमा प्रतिक्रिया लिन खोज्दा सापकोटा सम्पर्कमा आएनन्।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १४:००:००