नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी प्रकरणमा तथ्यहीन आरोप लगाएको बताएका छन्।
पार्टी कार्यालयमा जारी अनुशिक्षणमा अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेको र त्यसैको कडीकोरूपमा यसलाई बुझ्नुपर्ने बताए।
‘अस्तिका दिनमात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्यो भनेर बोले,’ उनले भने, ‘हुनैपर्छ संसद अवरूद्ध, किनभने यस्तो बकवास! जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’
उनले संसद्जस्तो गरिमामय ठाउँमा कोभिड १९ का बेला औषधी उपकरण खरिद्मा दुई अर्ब खाएको भन्ने आरोप लगाएको भन्दै आक्रोश पोखे।
‘दुई अर्ब पैसामा खायो भन्ने, त्यसको कि त पुष्टि हुन पर्यो? पुष्टि हुने त कुनै सम्भावना छैन,’ उनले भने, ‘नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारको विरूद्धमा अभियान चलाएर आएको छु। त्यही मानिसकोविरूद्ध! यो त इमानका शत्रुहरूले गर्ने काम हो। देशद्रोही तत्वहरूले गर्ने काम हो।’
उनले देशका कोही इमान्दार छैनन् भन्ने तथ्य स्थापित गरेर देशप्रति नै वितृष्णा जगाउने र प्रकारान्तरले देशद्रोही काम भएको बताए।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको निशाना एमालेलाई बनाइएको पनि बताए।
‘नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने खालको धन्दामा केही व्यक्ति सामेल रहेछन्। अहिले म को यसमा संलग्न, के छ ? अदालतका केस छ, यसमा म धेरै भन्न चाहन्न। तर, यसमा सम्पूर्णरूपमा बाढीचाहिँ एमालेतर्फ खन्याउन खोजियो,’ उनले भने।
उनले नेकपा (एमाले) भ्रष्टाचारको सधैं विरोधी र स्वच्छता, पारदर्शिताको पक्षपोषक भएको बताए।