दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यनरत विद्यार्थीले कुलसचिव माधव अधिकारीको पुत्ला र कुर्सी जलाएका छन्।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय कमिटी प्रमुख सचिव अभयप्रताप चौबेको नेतृत्वमा विद्यार्थीले कुलसचिव अधिकारी बस्ने कुर्सी विश्वविद्यालय प्राङ्गणमा जलाएका हुन्।
त्यसअघि उनीहरूले आइतबार केन्द्रीय कार्यालय र डिनको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। घटना पछि नेविसंघ विद्यापीठ सभापति बसन्त अधिकारी, अखिल क्रान्तिकारी विद्यापीठका अध्यक्ष गणेश पौडेल र प्रमुख सचिव चौबेले विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि तालाबन्दी गरिएको उल्लेख गरेका छन्।
यस विश्वविद्यालयका कुलपति प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन्।
आन्दोलनरत विद्यार्थीले करार शिक्षकको अवधि थप हुनुपर्ने, चिकित्सा आयोगको न्यूनतम मापदण्डअनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, ओएन्डएम सर्भे गरी जनशक्ति नियुक्त गर्नुपर्ने लगायतका माग राखेका छन्। त्यस्तै, छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई ‘इन्टर्न’ भत्ताको तत्काल व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ।
विभिन्न माग राख्दै आएका आयुर्वेदमा स्नातक (बिएएमएस) का विद्यार्थीले यसअघि राखेका आफूहरूको मागका सुनुवाइ गर्न कुनै चासो नदिएको आरोप छ।
आगजनीपछि अखिल क्रान्तिकारीका विद्यार्थीले कुलसचिव अधिकारीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।
कुलसचिवको अगुवाइमा विविध भवन निर्माण, बोटानिकल गार्डेन र अन्य विविध कार्यमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार गरेको आरोप आन्दालनरत विद्यार्थीले लगाएका छन्।