पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने बताएकी छन्।
पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर नेकपा (एमाले) केन्द्रीय कमिटीमा घनघोर छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपतिले प्रष्ट रूपमा भनिन्- म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ।
उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साउन ४ गते भेटेको प्रसंगबाट कुराकानी सुरू गरेकी थिइन्।
त्यसअघि उनले नयाँ वर्षका अवसरमा आफूले शुभकामना सन्देश दिएको र त्यसले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली चिढिएकोसमेत बताइन्।
‘म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो, उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो तर गम्भीर वार्तालाभ भने त्यो विषयमा भएको थिएन,’ उनले भनिन्।
अहिले आफू सक्रिय राजनीतिमा फर्केपछि पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुन्न भनेर अध्यक्ष ओलीले अभिव्यक्ति दिने र नेताहरूलाई 'नबोल्न' आग्रह गरिरहेको सुनिएको उनले बताइन्।
‘म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ, राष्ट्रपतिबाट हटेपछि भाइहरू (एमालेका नेताहरू) घरमा आउने र तपाईं अघि बढ्नुपर्छ भनिरहेका थिए, म पनि सक्रिय राजनीतिमा फर्कने जोखना हेरिरहेको थिएँ,’ भण्डारीले भनिन्, ‘नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो, त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी हुँ।’
उनले २०८० सालमै एमालेको सदस्यता नवीकरण गरेको पनि बताइन्। २०७२ देखि २०८० सम्मको दस्तुर तिरेर आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको दाबी थियो। ‘राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै मैले एमालेको सदस्यता नवीकरण गरेको थिएँ, त्यसबेला खासै बहसको विषय बनेन। सदस्यता नवीकरण गरेकोले म सक्रिय राजनीतिमा फर्कनु सामान्य विषय हो,’ उनले भनिन्।
यसबीच उनले अर्को वर्ष मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरिएको र त्यसका लागि समिति गठन गर्ने बेलाका प्रसंग पनि उप्काइन्।
‘यसबारे अध्यक्षजीसँग कुरा राखेको थिएँ, पार्टीकै वरिष्ठ नेता (ईश्वर पोखरेल) हीरक जयन्ती कार्यक्रमको संयोजक बन्नुहोला भन्ने थियो, अध्यक्षजीले पदाधिकारीको पार्टीमै काम हुन्छ, अन्य काममा लगाउन हुन्न भन्ने जबाफ दिनुभयो अनि मैले डोरमणि पौडेलको नेतृत्वमा समिति बनाएँ,’ उनले भनिन्, ‘अध्यक्षजीले जनसंगठनका मानिस पनि हीरक जयन्ती मनाउने समितिमा बस्न हुँदैन भन्नुभयो।’
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका थिए। यो कुरा सुनेपछि आफूले अध्यक्ष ओलीलाई फोन गरेको भण्डारीको भनाइ छ।
‘मेरो सदस्यता पेन्डिङमा छ भन्ने कुरा गरिएको रहेछ, त्यो पेन्डिङ भनेको के हो?’ भण्डारीले ओलीलाई फोनमा सोधेकी थिइन्। अध्यक्ष ओलीले यो राजनीतिक निर्णय गर्ने कुरा हो, बसेरै कुरा गरौंला भन्ने जबाफ दिएका थिए।
त्यसपछि भेट्ने कुरा भएको उनले बताइन्। अध्यक्ष ओलीले बालुवाटार आउन भने पनि आफूले च्यासलमै भेटवार्ता गर्ने कुरा राखेपछि साउन ४ गते च्यासलमा भेटवार्ता भएको उनको भनाइ छ।
‘च्यासलमा भेट्ने भनेपछि उहाँले नै अपराह्न ३ बजेको समय दिनुभयो, धेरैबेर पर्खन नलगाउनुस् मेरो खुट्टा दुख्ने समस्या छ भनेको थिएँ, ३ बजे समय दिए पनि ४ बजे उहाँ आउनुभयो, त्यतिन्जेल एमालेका नेताहरूसँग कुराकानी गरेर बसेको थिएँ,’ उनले भनिन्।
च्यासलमा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीति, कांग्रेससँगको समीकरणलगायत विषयमा कुराकानी भएको उनको भनाइ छ। तर अध्यक्ष ओलीले पार्टी सदस्यता राजनीतिक विषय भएको र यसमा पार्टीले निर्णय लिने बताएका थिए।
‘तपाईं राष्ट्रपति भइसकेको मानिस हो, सम्मानित पदमा बसेकै राम्रो हुन्छ, बाहिर पनि टीकाटिप्पणी गर्छन्, अनेक प्रचार गर्छन्,’ अध्यक्ष ओलीको भनाइ थियो।
तर अध्यक्ष ओलीसँग आफूले सदस्यता नवीकरण भइसकेको र आफू सक्रिय राजनीतिमा अघि बढिसकेको कुरा राखेको पनि भण्डारीले बताइन्। ‘पार्टी सदस्यता नवीकरण भइसकेको छ, मेरा लागि योभन्दा ठूलो अर्को काम हुन सक्दैन,’ उनले अध्यक्ष ओलीलाई भनेकी थिइन्।
साथै भण्डारीले केही पुराना कुरा पनि निकालिन्।
२०७० सालमा आफूलाई सभामुख बन्ने प्रस्ताव आएको प्रसंग निकाल्दै उनले भनिन्, ‘मलाई त्यसबेला पार्टीका नेताहरूबाटै सभामुख बन्न प्रस्ताव आएको थियो, हिँडडुल गरिराख्नुपर्ने मानिस म ८ घन्टा लगातार कुर्सीमा बस्न सक्दिनँ भनेर सभामुख भइनँ,’ उनको भनाइ थियो, ‘त्यसपछि सभामुखमा सुवास नेम्वाङ नै बन्नुभयो।’
साथै उनले राष्ट्रपतिका लागि प्रस्ताव आएको प्रसंग पनि सुनाइन्।
‘राष्ट्रपति बन्नुपर्छ भनेर प्रस्ताव आउँदा मलाई रातभर निन्द्रा लागेन, राष्ट्रपतिमा जाने कि नजाने भनेर। छोरीहरूले पनि राष्ट्रपतिमा गएर बुवाको सपना कसरी पूरा हुन्छ भनेर मलाई सोधे, म राष्ट्रपति हुँदा मेरो घरमा खुसी थिएन,’ उनले दाबी गरिन्।
पार्टीले राष्ट्रपतिमा पठाउने निर्णय गरेपछि आफू गएको उल्लेख गर्दै उनले राष्ट्रपति हुँदा गरेका कामप्रति पछुतो र गुनासो भने नरहेको बताइन्।
‘म राष्ट्रपति हुँदा दुई पटक संसद विघटन पनि भयो। मैले त्यो ठिकै गरेँ भन्ने लाग्छ, अदालतले पनि आफ्नो काम गर्यो, मैले पनि आफ्नो काम गरेकी हुँ,’ उनले भनिन्, ‘मैले राष्ट्रपति हुँदा गरेको काममा पछुतो भने छैन, देशको अहित हुने काम पनि गरिनँ भन्ने लाग्छ।’
भण्डारीले अध्यक्ष ओलीप्रति कटाक्ष पनि गरिन्। अध्यक्ष ओली आफ्नै विचारबाट पछि हटेको उनको आरोप छ। अध्यक्ष ओलीले विगतमा पार्टी लोकतान्त्रिकरणको विचार राखे पनि अहिले उमेर हद र दुई कार्यकाल निर्णय उल्टाएको उनको भनाइ छ।
‘ओलीजी आफ्नै विचारबाट पछि फर्कनुभयो, लोकतान्त्रिकरणको विचारबाट उहाँ हट्नुभयो,’ उनले भनिन्।
पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुने उनको दाबी छ।
‘राष्ट्रपति भएको मानिस राजनीतिमा फर्कन हुन्न भनिरहेका छन्। कतिपयले यो अनैतिक पनि भनेका छन्। के पार्टीको निर्णयअनुसार राष्ट्रपतिमा जानु अनैतिक हो? म जहाँ गए पनि पार्टीकै आदेशअनुसार र निर्णयअनुसार गएको हुँ, काम गरेको हुँ। अहिले अनैतिक नैतिक कुरा गरिँदैछ। राष्ट्रपति संस्थामा नैतिक मानिस जाने हो भने फर्किएर आएपछि पार्टी पनि त नैतिकवान हुन्छ,’ उनले भनिन्।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपतिको प्रवक्ता नबन्न र बने कारबाही गर्ने चेतावनी दिएको संकेत गर्दै उनले भनिन्, ‘नेताहरूलाई नबोल्न भनिएको रहेछ, तर म अघि बढिसकेँ। केन्द्रीय समिति बैठकअघि प्रदेश-प्रदेशमा भेला गरिएको रहेछ, केन्द्रीय समितिमा त्रास सिर्जना गर्न खोजिएको छ।’
अध्यक्ष ओलीले पार्टीभित्र आफ्नो विकल्प छैन भन्न खोजिएकोतर्फ लक्ष्य गर्दै उनले भनिन्, ‘पार्टीभित्र मेरो विकल्प छैन भनेर आफूबाहेक उहाँले अर्को नेतृत्व देख्नुभएको छैन। अरूलाई केटाकेटी ठान्नुहुन्छ। नेतृत्व नै ठान्नुहुन्न।’
एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउन हुन्न भनेर निर्णय गरेमा के गर्ने भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो कठोर निर्णय केन्द्रीय कमिटीले लिँदैन भन्ने लाग्छ, यदि लियो भने त्यसैबेला प्रतिक्रिया दिउँला।’
साथै उनले आफू दुई कार्यकाल उपाध्यक्ष भइसकेपछि नेताहरूको आँखाको कसिङ्गर बनिसकेको बताएकी थिइन्। ‘दुई कार्यकाल उपाध्यक्ष भएकोले अध्यक्ष उठ्न सक्छ भनेर त्यसबेलै नेताहरूको आँखामा म कसिङ्गर भएकी थिएँ,’ उनले भनिन्।
उनले आफू २०३५-२०३६ सालदेखि अनेरास्ववियुबाट पार्टीमा लागेको पनि बताइन्।
‘संगठनका अधिवेशनमा एक्लै, माझ किरातको छोरी काठमाडौं आउँथेँ। सङ्घर्षबाट आएको हुँ। खुट्टा कमाउन्न,’ उनले दोहोर्याइन्।