राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार चयन गर्न मोबाइल एपबाट मतदान गराउँदा दलित क्लस्टरमा सबभन्दा धेरै मत प्राप्त गरेका थिए, विजय जैरूले।
तर निर्वाचन आयोगमा रास्वपाले बुझाएको ११० जनाको समानुपातिक सूचीमा जैरू अटाएनन्।
समानुपातिकतर्फ दलित क्लस्टरमा जैरूलाई राख्न उपयुक्त ठानेका १३ हजार १ सय ४३ पार्टी सदस्यको मतलाई रास्वपाको नेतृत्वले महत्त्व दिएन।
२०७९ सालमा समानुपातिक सूचीमा बस्न योग्य भएका जैरू २०८२ मा अयोग्य भए, उनी सूचीमा परेनन्।
त्यस्तै, रास्वपाको प्राथमिक निर्वाचनमा खसआर्यतर्फ रञ्जु दर्शनाले १३ हजार ५ सय ५१ मत प्राप्त गरेकी थिइन्। उनले समग्र खसआर्य क्लस्टरमै तेस्रो र महिलातर्फ सबभन्दा धेरै मत पाएकी थिइन्। तर निर्वाचन आयोगमा रास्वपाले बुझाएको सूचीमा उनी पछाडि परेकी छन्।
खसआर्य महिलातर्फ रञ्जुको नाम दसौं नम्बरमा राखिएको छ। जबकि, खसआर्य क्लस्टरमै नवौं र महिलातर्फ पाँचौं स्थानमा रहेकी प्रतिभा रावलको नाम पहिलो नम्बरमा परेको छ। मतदानमा रञ्जुभन्दा पछाडि परे पनि आयोगमा बुझाइएको समानुपातिक सूचीमा प्रतिभाले रञ्जुलाई पछाडि छाडेकी छन्।
जैरू र दर्शना मात्र होइन, रास्वपा कार्यकर्ताले योग्य ठानेर धेरै मत दिएका थुप्रै नेता निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा पछि परेका छन्। मत कम पाउने अगाडि र मत धेरै पाउने पछाडि छन्।
खसआर्यमा सबभन्दा धेरै १८ हजार २ सय २३ मत पाएका रमेश प्रसाईं खसआर्य सूचीमा पाँचौं नम्बरमा छन्। उनीभन्दा झन्डै ६ हजार कम मत ल्याएका विपिनकुमार आचार्य सूचीको पहिलो नम्बरमा छन्।
प्राथमिक निर्वाचनमा कम मत ल्याएकी सुम्निमा उदास पनि आदिवासी जनजातितर्फ तेस्रो नम्बरमा छिन्। रास्वपाले आदिवासी जनजातितर्फ धेरै मत पाउने ९ जनाको नाम सार्वजनिक गर्दा सुम्निमाको नाम सूचीमै थिएन।
'समानुपातिक उम्मेदवार छान्न पार्टी सदस्यले मत हाले। तर उम्मेदवारको क्रम निर्धारण गर्दा नेताहरूले आफू अनुकूल गरे,' रास्वपाको समानुपातिक सूचीमा पुछारमा रहेका एक उम्मेदवारले भने, 'सुम्निमा उदासजी स्वर्णिम वाग्ले निकट हुनुहुन्छ। विपिनकुमार आचार्य र प्रतिभा रावलहरू पहिलेदेखि नै रवि लामिछाने निकट हुनुहुन्छ। उहाँहरू नै क्रम निर्धारणमा अगाडि हुनुहुन्छ। त्यसैले सांसद बन्ने पक्का गराइएको छ।'
रास्वपाका ती नेताका अनुसार मेयर बालेन शाह निकटका रूपमा माथिल्लो क्रममा राखिएका व्यक्तिलाई रवि लामिछाने स्वयंले छानेका हुन्।
'बालेजनीलाई सूचीमा नाम जुटाउनै कठिन थियो,' रास्वपाका ती नेताले भने, 'त्यसैले रवि लामिछानेले अर्को तर्फबाट पनि आफू अनुकूल नामहरू अगाडि तान्नुभएको छ।'
विवेकशील साझा पार्टीबाट केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी समीक्षा बाँस्कोटा भने अन्तिम समयमा कुलमान घिसिङसँगको एकता र बालेन शाहसँग भएको सहमतिका कारण क्रम निर्धारण तलमाथि परेको हुनसक्ने बताउँछिन्।
'बालेनजीको एकता र त्यसपछि कुलमानजीको एकताका हिसाबले क्रम निर्धारण भयो,' बाँस्कोटाले भनिन्, 'क्रम निर्धारणमा कुनै पक्षधरता भएको होइन।'
बाँस्कोटाले प्राइमरी चुनावमा प्राप्त मतले मात्र उम्मेदवारको क्रम निर्धारण नभएको बताइन्।
'प्राइमरी चुनावको मतभार ५० प्रतिशत मात्र थियो,' बाँस्कोटाले भनिन्, 'घरदैलो, लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी लगायतमा ५० प्रतिशत मत थियो। त्यसकै आधारमा सूची तलमाथि भएको होला।'
रास्वपामा समानुपातिकतर्फ ३८८ जना उम्मेदवार भएका थिए। रास्वपाको एपमा २ लाख ५० हजार सदस्यले नाम दर्ता गराएका छन्। तीमध्ये १ लाख ८२ हजार मतदाताले मोबाइल एपमार्फत् सदस्यता प्रमाणीकरण गरेका छन्। तर समानुपातिक उम्मेदवार चयनमा निकै कम मात्र सदस्यले मत खसालेका थिए।
रास्वपा स्रोतका अनुसार समानुपातिकतर्फ २६ हजार ४ सय ३ मत खसेको थियो। सबभन्दा धेरै मत रमेश प्रसाईंले पाएका थिए। सबभन्दा कम मत ल्याउने व्यक्तिले ११ सय ३२ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनौटको रूपरेखा तयार पारेका सहमहामन्त्री विपिनकुमार आचार्य समानुपातिक उम्मेदवार टुंगो गर्दा कुनै पक्षधरता नभएको बताउँछन्।
२०७९ सालमा रास्वपाले पहिलो पटक प्राइमरी निर्वाचन प्रणाली अपनाएको थियो। तर रूपन्देहीमा उपनिर्वाचन घोषणा भएपछि प्रणाली फेरेको थियो। प्राइमरीको मतभार ५० प्रतिशतमा झारेर उम्मेदवारको अन्य प्रस्तुतिका आधारमा समेत छनौट गर्ने व्यवस्था गरिएको थियो।
'मोबाइल एपमा मतदान गर्दा 'स्याम्पल साइज' सानो हुने रहेछ। सबै सदस्यले मतदान गर्न नसक्ने रहेछन्। त्यसैले व्यक्तिको क्षमता र उसको बहुमुखी प्रतिभा पनि हेर्नुपर्छ भन्ने भयो,' आचार्यले भने, 'हामीले त्यसै आधारमा रूपन्देहीमा पाइलट प्रोजेक्ट गर्यौं।'
उनले त्यसै आधारमा पार्टीले उम्मेदवार छनौटको रूपरेखा बनाएर केन्द्रीय समितिबाट अनुमोदन गरिएको बताए।
रास्वपाले समानुपातिक उम्मेदवार छनौटका लागि लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी सम्बन्धी मापदण्ड बनाएको छ। लिडरसिपतर्फ रजनीतिक चेत, विचार, सदाचार र नैतिकता, शिक्षा तथा पेसागत अनुभव, नेतृत्वदायी अनुभव र भविष्य दृष्टिलाई आधार मानिएको छ।
त्यस्तै, पोलिटिकल प्रोक्सिमिटीमा पार्टीसँग आबद्धता अवधि, कार्यसम्पादन, निर्वाचन क्षेत्रमा सक्रियता, लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार, विकास र सुशासनमा भूमिका, स्थानीय मुद्दा र समस्या बुझाई तथा क्रियशिलता लगायतलाई आधार मानिएको छ।
रास्वपाका एक नेताका अनुसार यस्ता दसवटा वर्गमा आधारित भएर उम्मेदवारहरूलाई नम्बर प्रदान गरिएको छ। सबै उम्मेदवारलाई यसपटक रास्वपाले आफ्नो भिजन (ब्लू प्रिन्ट) प्रस्तुत गर्न लगाएको थियो भने निर्वाचन क्षेत्रमा घरदैलो अभियान र संसदमा जस्तै एक मिनेटभित्र धारणा व्यक्त गर्न लगाएको थियो।
आचार्यले उम्मेदवार टुंगो लगाउने बेलासम्म पनि पार्टीमा नयाँ मानिसहरू जोडिँदा शक्ति बाँडफाँटका आधारमा क्रमसंख्या तलमाथि परेको बताए।
अहिले प्राथमिक निर्वाचनमा प्राप्त मतका आधारमा मात्र उम्मेदवारलाई तुलना गर्न नहुने उनी बताउँछन्।
'हामीले मतदान, लिडरसिप एकेडेमीले दिने मत र पोलिटिकल प्रोक्सिमिटी जोडेर लिस्ट बनाएका हौं,' आचार्यले भने, 'त्यसपछि कुलमानजी र बालेनजीको समूहको लिस्ट मिसाएर बुझाइएको छ।'
उनले प्रारम्भिक निर्वाचमा मत पाउँदैमा उम्मेदवार बन्न नसक्ने बताए।
सेतोपाटीले कुराकानी गरेका रास्वपाको दलित क्लस्टरमा समानुपातिकतर्फ धेरै मत पाएका जैरूले भने पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीबाट आफूले पाएको भनिएको मत विवरण उपलब्ध नगराइएको बताए।
सहमहामन्त्री आचार्यले भने पार्टीको सचिवालयले त्यस्तो मत छिट्टै सार्वजनिक गर्ने जानकारी दिए।
'आज सार्वजनिक बिदा भयो। पार्टी सचिवालयले भोलितिर सार्वजनिक गर्छ,' आचार्यले भने, 'यो निर्वाचन निष्पक्ष भएको छ।'
उनले शीर्ष नेतृत्व र सचिवालयमा बसेर पार्टी ड्राइभ गरिरहेका व्यक्तिहरूको विवेकमा शंका गर्न नहुने बताए।
'राष्ट्र बैंकले पैसा छाप्छ। अब अरू बैंकहरूले डुप्लिकेट दिन्छन् कि भनेर शंका गर्न भएन,' आचार्यले भने, 'यो त उहाँहरूमाथि ज्यादती हो। मलाई लाग्दैन मार्किङ गर्ने व्यक्तिले 'फउल प्ले' गर्नुपर्ने कुनै आवश्यकता छ।'
समानुपातिक सूचीमा नअटाएका जैरूले भने आफू पार्टीको केन्द्रीय सदस्यका रूपमा देश विदेशमा संगठन बनाउन सक्रिय भएको बताए।
'म सुदूरपश्चिमको मान्छे हुँ। पार्टीको इमानदार सिपाही हुँ। त्यसैले १३ हजार मत पाएँ,' जैरूले भने, 'रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टीको परिकल्पना गरिएको थियो। तर लोकतन्त्रको धज्जी उड्यो कि भन्ने लागेको छ।'
उनले आफूभन्दा पछाडि भएका उम्मेदवारलाई अगाडि तानिएको गुनासो गरे।
'म नेतृत्वको टेबलमा जाँदिन। कर्ममा विश्वास गर्छु,' जैरूले भने, 'नेतृत्वसँग म कहिल्यै चाप्लुसी गर्न गइनँ। जनताबीच काम गरेकाले धेरै मत पनि पाएँ।'
उनले मत मात्र नभएर पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन रहेको बताए।
'एकेडेमीमा सबै प्रतिस्पर्धी सँगै बसेर प्रस्तुति गरेका थियौं। मैले शून्य समयमा राखेको कुरा कस्तो थियो भन्ने अरूलाई पनि थाहा छ,' जैरूले भने, 'मेरो प्रस्तुति उत्कृष्ट नै थियो।'
राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन समितिमा भएका एक नेताले भने समानुपातिकतर्फ मतदानलाई मात्र आधार मान्न नहुने निष्कर्षमा पार्टी पुगेको र समानुपातिक सिट नीतिगत लबिङ गर्नका लागि छानिएको बताए।
'पार्टीको केन्द्रीय समितिले २० प्रतिशत सिटमा भिटो प्रयोग गर्न सक्छ,' ती नेताले भने, 'समानुपातिक भनेको त नीतिगत लबिङ गर्ने मानिसलाई लैजाने बाटो पनि हो।'
रास्वपाबाट दलित क्लस्टरमा पुरूषतर्फ चार नम्बरमा नाम भएका डा. रामजी रामले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत् जैरूलाई उचित स्थान दिनुपर्ने बताएका छन्।
'लोकतन्त्रमा अर्थ रहन्छ त मतदाताको मतको। अहिले रास्वपाले आन्तरिक प्राइमरी इलेक्सन गराएर अग्रस्थान हासिल गरेका व्यक्तिहरू मतअनुसारको स्थान नभई माथितल परेको देखियो,' रामले लेखेका छन्, 'दलितबाट सर्वाधिक मत ल्याउनु भएका विजय जैरूजीको नाम समानुपातिक लिस्टमै देखिएन। प्राइमरी इलेक्सनलाई छनौटको आधार मानिएको हो/होइन जबाफ चाहियो! रास्वपामा विधि र सुशासनले अर्थ राख्छ भने विजय जैरूजीलाई स-सम्मान उचित स्थानमा राखौं।'
'मेरो नाम त्यहाँ हुनु र उहाँको नाम लिस्टमै नहुनुले मलाई लज्जाबोध भयो। मलाई राख्नुपरेकाले उहाँ नअट्नुभएको हो भने बरू म अन्य फरक भूमिकामा रहेर पनि देश र पार्टीलाई न्याय र सुशासनको खबरदारी गर्दै गरौंला। पार्टीभित्रको लोकतान्त्रिक अभ्यासले नै साँचो अर्थमा पार्टी बलियो बनाउँछ।'
रास्वपाले सोमबार अबेर फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको थियो। उक्त सूचीमा कलाकार, खेलाडी, उद्योगी व्यवसायीसम्मलाई समेटेको छ।
समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार दलहरूलाई अब आयोगले प्रतिनिधित्वको प्रतिशत नमिलेको र उम्मेदवारको योग्यता जाँच लगायत विषयमा केन्द्रित भएर सूची हेरफेर गर्न समय दिनेछ। समानुपातिक बन्दसूची अन्तिम भएर आउँदो माघ २० गते प्रकाशित हुनेछ।