महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।
कोशीलगायत विभिन्न प्रदेशमा समितिले अन्तर्क्रियात्मक कार्यक्रम गरिसकेको छ र अब सुदूरपश्चिममा केन्द्रित हुन लागेको हो।
कञ्चनपुरको महेन्द्रनगरमा जेठ ११ गते क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालको भनाइ छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा कार्यक्रम हुनेछ। यस कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।
कार्यक्रममा केन्द्रीय कार्यसमितिमा रहेका सुदूरपश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यहरू, सुदूरपश्चिम प्रदेश भित्रका जिल्लाहरूमा खटिएका जरा अभियानका केन्द्रीय प्रतिनिधिहरू, सुदूरपश्चिम प्रदेश कार्यसमितिका पदाधिकारीहरू, सुदूरपश्चिम प्रदेश भित्रका जिल्ला सभापतिहरू, सुदूरपश्चिम प्रदेश भित्रका प्रतिनिधि सभाका क्षेत्रीय कार्यसमितिका सभापतिहरू तथा उनीहरूको साथमा १/१ जना प्रविधि विज्ञ, कार्यक्रम आयोजना हुने कञ्चनपुर जिल्लाका नेपाली कांग्रेसका पालिका सभापतिहरू सहभागी रहनेछन्।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले पनि प्रदेशहरूमा पुगेर जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान पनि साथसाथै अघि बढाइरहेको हो।
क्रियाशील सदस्यहरूको विवरणलाई डिजिटल गर्न अद्यावधिक गर्न लागिएको महामन्त्री पौडेलले बताए।
‘पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले यो डिजिटल अभियानलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरिरहेको छ,’ पौडेलले भने, ‘हरेक प्रदेशका पार्टीका विभिन्न तहका सभापति तथा प्राविधिकहरूलाई डिजिटल अद्यावधिकको अपरिहार्यता एवं प्राविधिक प्रक्रियाबारे प्रशिक्षण गरिन्छ।’
उनकाअनुसार कोशी, कर्णाली, लुम्बिनी, बागमती प्रदेशमा अद्यावधिकसम्बन्धी अन्तर्क्रिया सकिएको छ।
महामन्त्री पौडेलका अनुसार जेठ २१ गतेभित्र नयाँ क्रियाशील वितरण, छुटेका पुराना सदस्यहरूको नवीकरण र सम्पूर्ण क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्नेछ।
यो विवरण अद्यावधिकपछि कांग्रेस आफ्ना सदस्यहरूको डिजिटल डाटाबेस भएको व्यवस्थित र पूर्ण रूपमा डिजिटल स्वरूपमा रूपान्तरित भएको पार्टी बन्ने उनले बताए।
नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले भने क्रियाशील अद्यावधिकमा प्रश्न उठाउँदै आएका छन्।
१५ औं महाधिवेशनका लागि भनेर यसअघि नै ६ लाख क्रियाशील नवीकरण र ३ लाख नयाँ वितरण गरिएकोले अद्यावधिकको आवश्यकता नरहने उनीहरूको भनाइ छ।
साथै निवर्तमान सभापति शेरबहादुर देउवा निकटहरूले सुदूरपश्चिम भेला पनि गर्न लागेका छन्। जेठ १० गते हुने भेलामा अनिवार्य सहभागी रहन भन्दै प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिमका ९ जिल्ला कार्यसमितिलाई पत्राचार गरेका थिए। पार्टीको बृहत्तर एकता र पुनर्जागरण भन्दै संस्थापनइतर पक्षले पनि प्रदेशहरूमा भेला गरिरहेको छ।
संस्थापन पक्षले भने करिब ९ लाख क्रियाशील रहेको कांग्रेसमा ८० हजार सदस्यको मात्रै मोबाइल नम्बरलगायत विवरण रहेको भन्दै सदस्यको आवश्यक विवरण संकलनका लागि पनि अद्यावधिकको आवश्यकता रहेको बताउने गरेको छ।
साथै क्रियाशील अद्यावधिक काम नगर्ने वडा सभापतिको जिम्मेवारी खोस्ने तयारीमा कांग्रेस छ।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। क्रियाशील अद्यावधिक नगरे महाधिवेशनमा भाग लिन नपाउने कांग्रेसले जनाएको छ।