'नागरिक' दैनिकमा बालकृष्ण अधिकारी सम्पादक नियुक्त भएका छन्।
प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले प्रधानसम्पादक गुणराज लुइँटेलले दिएको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नयाँ सम्पादक नियुक्त गरेको हो।
नवनियुक्त सम्पादक अधिकारीले बिहीबारबाट जिम्मेवारी सम्हालेको बताएका छन्।
आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका ४२ वर्षीय अधिकारी करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्।
उनले २०५९ सालमा 'युगवाणी' साप्ताहिकबाट पत्रकारिता सुरू गरेका थिए। त्यसपछि विभिन्न साप्ताहिक पत्रिका हुँदै नयाँ पत्रिकामा लामो समय काम गरे। नयाँ पत्रिकापछि सौर्य दैनिक हुँदै २०६९ सालमा उनी नागरिकमा आबद्ध भएका हुन्।
पछिल्लो समय नागरिकको राजनीतिक तथा सामाजिक ब्युरो प्रमुख रहेका अधिकारी प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य तथा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्ष रहिसकेका छन्।