स्ट्रेट अफ हर्मुजबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क लिने विषयमा इरान र ओमानबीच छलफल भइरहेको खुलेको छ।
अमेरिकाको चेतावनीका बाबजुद इरान र ओमानले हर्मुजमा जहाजहरूबाट शुल्क लिने विषयमा छलफल गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
इरानले हर्मुजमा जहाजहरूबाट शुल्क उठाउन यसअघि पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) नामको समुद्री नियामक निकाय नै गठन गरेको थियो।
पिजिएसएले जहाजहरूलाई अनिवार्य ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने, फारममा जहाजको नाम, पहिचान नम्बर, पुरानो नाम, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक र चालक दलको राष्ट्रियतासम्म खुलाइनुपर्ने भनेको थियो।
ती सबै विवरण सम्बन्धित जहाजहरूले हर्मुज पार गर्नुअघि नै इमेलमार्फत पठाउनुपर्ने भनेको थियो।
हर्मुजमा अमेरिकाको पनि नाकाबन्दी कायम रहेकाले इरानले निकाय नै बनाए पनि त्यसको कार्यान्वयन भनेको गरेको थिएन।
बुधबार इराकी तेल बोकेको चिनियाँ पानीजहाज स्ट्रेट अफ हर्मुजबाट निस्किएपछि अमेरिका-इरान युद्ध चाँडै अन्त्य हुने आशा पलाएको थियो।
तर हर्मुजमा शुल्क लिने विषयमा इरान र ओमानबीच छलफलले वार्ता अझै निष्कर्ष नजिक नपुगेको संकेत गरेको विश्लेषण हुन थालेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हर्मुजमार्फत आवागमनका लागि शुल्क उठाउने कुनै प्रयासको विरोध गर्दै आएको अवस्थामा इरानले ओमानसँग साझेदारीमा नयाँ प्रणालीबारे छलफल अघि बढाएको बताइएको छ। यद्यपि, छलफलबाट ठोस निष्कर्ष निस्कने वा ननिस्कने अझ स्पष्ट भने नभएको टाइम्सले जनाएको छ।
फेब्रुअरी अन्त्यतिर अमेरिका र इसराइलको आक्रमणपछि इरानले हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजको आवतजावत लगभग ठप्प बनाएको थियो, जसले अन्तर्राष्ट्रिय ढुवानी प्रणाली प्रभावित हुनुका साथै ऊर्जा मूल्य बढाएको थियो। त्यसपछि इरानले उक्त मार्गमाथिको प्रभाव कायम राख्दै त्यसबाट आम्दानी गर्ने उपायबारे छलफल सुरु गरेको जनाइएको छ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटीले बुधबार सामाजिक सञ्जालमार्फत हर्मुज जलडमरूमध्यको व्यवस्थापन निगरानी क्षेत्र निर्धारण गरिएको र अब आवागमनका लागि अनुमति आवश्यक पर्ने जनाएको थियो।
इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीले पनि समुद्री यातायात नियन्त्रण तथा “विशेष सेवा” उपलब्ध गराएबापत शुल्क लिने संयन्त्र बनाइएको दाबी गरेको छ।
इरानका अधिकारीहरूले यो ‘टोल’ प्रणाली नभई जहाजलाई उपलब्ध गराइने सेवाका लागि शुल्क लिने अवधारणा भएको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय जलमार्गबाट सामान्य आवागमनका लागि शुल्क उठाउन पाइँदैन, तर फोहोर व्यवस्थापन वा प्राविधिक सहयोगजस्ता सेवा उपलब्ध गराएबापत निश्चित शुल्क लिन सकिने व्यवस्था छ।
इरान र ओमानबीचको छलफलमा ओमानले सुरुआतमा संयुक्त साझेदारी अस्वीकार गरे पनि सम्भावित आर्थिक लाभ देखेपछि आम्दानी बाँडफाँटको विषयमा वार्ता अघि बढाएको बताइएको छ। ओमानले खाडीका अन्य मुलुक तथा अमेरिकासँग पनि यो प्रस्तावबारे प्रभाव प्रयोग गर्न सक्ने संकेत दिएको स्रोतहरूको दाबी छ।
हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ, जहाँबाट विश्वको करिब पाँचौं हिस्सा समुद्री तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने गर्छ।
यस्तो अवस्थामा शुल्क प्रणाली लागू भए त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्न सक्ने विश्लेषण गरिएको छ।