'नेताहरू देश बनाउँदै होलान् भनेको, बिक्रीमा पो रहेछन्!'
टेलिफोन कुराकानीमा कपिलवस्तु–१ की स्वतन्त्र उम्मेदवार कैसर जहाँ उर्फ रविना खानले यसो भनिरहँदा उनका गला अवरूद्ध सुनिएका थिए।
उनी आफ्नै विगततिर फर्किएकी थिइन्।
हिजोका कठिनतम दिनहरू सम्झँदा उनलाई अहिले पनि गर्व लाग्छ। मुटु ढक्क फुल्छ। आफ्नै हातले परिवर्तनको वेग निम्त्याएको आभास हुन्छ।
र, क्रमशः पुलकित सुनिँदै जान्छिन्।
सशस्त्र संघर्षको ज्वाराभाटाबीच हुर्किएकी थिइन् रविना। उनलाई आफ्नो बाल्यकाल कसरी बित्यो पत्तो छैन। बाल्य सम्झनाहरू पुरानो पानी फोटोझैं धमिलो बन्दै गएका छन्। विलुप्त हुने बाटोमा छन्, ती पुराना स्मृतिहरू।
हाल कपिलवस्तुको मायादेवी गाउँपालिकामा पर्ने बडकी खैरटी टोलमा जन्मिएकी हुन् उनी। परम्परागत मुस्लिम परिवारमा।
त्यहाँको रैथाने परिवार, जग्गा–जमिन पनि प्रशस्तै थियो। घरमा काम गर्ने कामदारहरू पनि थिए। जमिनदार खलक, आफ्नै बाबुबाजेले निर्धन परिवारलाई गर्ने थिचोमिचो–हेलाहाँसो देखेरै हुर्किइन्। मुस्लिम परिवारमा जन्मिएकाले औपचारिक अध्ययनको थालनी भएको थिएन। भर्खर मदरसा जान थालेकी थिइन्। उर्दू अक्षरहरूसँग चिनापर्ची हुँदै थियो।
देशमा तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र संघर्षको आगाको लप्का उठ्दै थियो। माओवादी छापामारहरू उनको घरमा बाक्लै आउजाउ गर्न थालिसकेका थिए।
'प्रशासनको आँखा छल्न उनीहरूलाई जमिनदारको घर सजिलो थियो। त्यसैले आउजाउ गर्ने रहेछन्, म प्रभावित भइहालेँ,' रविनाले योभन्दा बढी कुरा सुनाउन चाहिनन्।
रविनाका अनुसार उनी घर छाडेर हिँड्दा ९–१० वर्षकी मात्र थिइन्। नयाँ अनुहार देख्नेबित्तिकै उनीहरूको सिको गरिहाल्नु बालबालिकाको स्वभाव नै हो। त्यही बाल्यचञ्चलताले ठोर्याएर उनलाई युद्धको आँधीबेहरीमा धकेलेको थियो।
अरूलाई हेर्ने दृष्टिकोण, व्यवहारहरूबारे उनको बालमगजले केही टिप्न सकेको थिएन। माओवादीको हिस्सा बनेर आन्दोलनमा सामेल भएपछि उनको आँखा उघ्रँदै गए।
'एउटा कठिन बाटो हिँड्दै थिएँ, तर कुन बाटो हिँड्दै छु, कहाँ जान हिँडेकी हुँ, यहाँ हिँडेर कहाँ पुग्ने हो, मलाई केही पनि थाहा थिएन। अगाडि–पछाडि बन्दुक बोकेका दाजुदिदी थिए, उनीहरू आर्मीजस्ता लाग्थे, उनकै पछाडि पछाडि हिँडिरहेको थिएँ,' उनले आफ्ना स्मृति सुनाउँदै गइन्, 'म त देश बदल्न पो हिँडिरहेको रहेछु।'
यसरी थाहै नपाई माओवादी आन्दोलनको अंग बनेकी रविनाले ११ महिना आसपास विभिन्न गाउँहरूमा बिताइन्। कपिलवस्तुका घना मुस्लिम बस्ती, सघन सुकुम्बासी टोद्य, दीनहीन घरहरू चहारिन्। तिनै गाउँलेहरूले दिएको रूखोपीठो खाइन्। र, राजनीतिक चेतना विस्तार गरिन्।
'बस्ती डुल्दा थाहा भयो, गाउँमा रोगीहरू रहेछन्। खान नपाउनेहरू रहेछन्। बालबालिका मदरसा पनि जाँदा रहेछन्,' उनले भन्दै गइन्, 'मानिसहरू भोकै, अनिदै हुँदा रहेछन्। सुख–सुविधा के हो, तिनीहरूलाई थाहा पनि हुँदो रहेन छ।'
यसैलाई फेर्न २०५८ मंसिरदेखि 'जनयुद्ध' अर्थात् सशस्त्र संघर्षको बाटो हिँडेकी उनी किशोर वयसमेत नेटेकी बन्दुक, गोला–बारूद्धसँग संगत गर्न थालिन्। त्यो उमेरमा उनी सरहका बालबालिका खेलौना बन्दुकसँग आफ्ना खुसी साटिरहेका हुन्थे। स्कुलका कक्षा कोठामा कखरा सिकिरहेका हुन्थे।
'क' बाट कलम सिक्ने उमेरमा 'क' बाट क्रान्ति पढ्दै युद्धको बाटो रोजेकी रविनाले रूपन्देहीको सुनवल, म्याग्दीको बेनी, तौलिहवा, स्याङ्जा लगायत ठाउँका ठूला आक्रमण–प्रत्याक्रमणमा भाग लिइन्। भीषण लडाइँको अनुभव बटुलिन्।
'म सुरूआतदेखि नै सैन्य मोर्चामा भएँ। प्रायः सबै ठाउँमा फ्रन्टलाइनमै बसेर लडाइँ लडेँ। ती लडाइँ सफल पनि भएका छन्,' उनले भनिन्।
लडाइँका अग्रमोर्चामा घाइते नभएकी रविना आन्तरिक दुर्घटनामा भने परिन्।
उनी हतियार, खरखजाना बनाउने माओवादी लडाकूको पंक्तिभित्र थिइन्। उनीहरू घरेलु सामग्रीबाट हातहतियार तयार पार्थे। २०६० सालतिर परीक्षणका क्रममा विस्फोट भएको थियो। उनको आँखामुनि छर्राको चोट लागेको थियो।
'सामान्य दुर्घटना थियो त्यो, लडाइँमा चाहिँ घाइते नै हुने गरी कुनै क्षति व्यहोर्नुपरेन,' उनले त्यति बेलाको क्षण सम्झिइन्।
माओवादी आन्दोलनका दौरान जसै उनको घरपरिवारसँग सम्बन्ध टुट्यो, उनको निजी जिन्दगी पनि छुट्दै गयो। आफ्नो व्यक्तिगत जीवन पार्टी र आन्दोलनको अधिनजस्तो हुन गयो।
'आन्दोलनकै क्रममा म किशोर, युवा भएँ, जवान पनि भएँ तर म जवान भएँ भनेर अनुभूति समेत गर्न पाइनँ,' उनले भन्दै गइन्।
यसरी रविना २०६३ सालसम्म सशस्त्र संघर्षमा सामेल भइन्। २०६३ सालपछि पार्टी शान्ति प्रक्रियामा अवतरित भयो। छापामारहरू सातवटा शिविरमा रहे। पछि कतिपय नेपाली सेनासँग समायोजन प्रक्रियामा गए। उनी भने राजनीतिक फाँटतिर लागिन्।
तर उनको जीवनबाट गृहस्थ जीवन छुट्यो। छापामारबाट फर्किएर उनी पार्टीमा पुगिन्।
यसबीच माओवादी, एकीकृत माओवादी, माओवादी केन्द्र, एमाले हुँदै नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरित भयो। माओवादीका नेताहरू प्रधानमन्त्री, मन्त्री, सांसद जस्ता राजकीय लाभमार्गमा ओहोरदोहोर गरिरहे। पद फेरि फेरि सत्ताको सुखभोग गरिरहे।
रविना खान भने यी सबैमा छुट्दै गइन्।
उनका सहयात्री कति युद्धमा छुटे, कति घाइते भएर यात्राबाट छुटे। शान्ति प्रक्रियापछि कति आन्दोलनबाट पनि छुटे। कति राजकीय सुखसयलबाट नअघाएर छुटे।
आफ्नै जीवनबाट छुट्दै छुट्दै गएकी रविना यी सबैबाट पर थिइन्। सत्ताको अनुहार राम्रोसँग चिन्न नपाएकी उनी कविलवस्तुका निर्धन बस्तीतिर भेटिन्थिन्। तिनै बस्तीको अगुवा र नेताको छवि विस्तार गर्दै गरेकी रविना अचानक यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक सूचीमा समेटिएकी थिइन्।
'मेरो त्यस्तो सपना थिएन। अघिल्ला अघिल्ला निर्वाचनमा कसैले सोधेको पनि होइन। यसपटक जिल्लाकै प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूले सोध्नुभएको थियो। तर समानुपातिक सूचीमा अटाउँला भन्ने सोचेकी थिइनँ,' उनले भनिन्।
नेकपाको प्रारम्भिक बन्दसूचीमा उनको नाम मुस्लिमतर्फ सुरूआती स्थानमै थियो। सांसद बन्ने सम्भावना ज्यादा भएको भन्दै उनलाई बधाई आउन थालेको थियो। उनले पनि आफ्नो समुदाय तथा निर्धन बस्तीको प्रतिनिधित्व अब संसदले पनि पाउने भयो भन्दै सपना बुन्न थालेकी थिइन्।
तर अन्तिम सूची आउँदा उनी खिस्रिक्क परिन्।
समानुपातिकको अन्तिम बन्दसूचीमा उनको नाम काटिएको थियो। केन्द्रका केही नेताले उनको नाम काटेर उक्त ठाउँमा नेपालगन्जका व्यवसायी काली मिया खातुनको नाम समावेश गरिदिएछन्। त्यसबारे उनी अनभिज्ञ थिइन्।
नाम काटिएकोमा उनलाई कुनै दुखेसो छैन। उनको गुनासो यति हो — उनलाई नाम काटिएको पनि जानकारी दिइएन।
'अध्यक्ष प्रचण्डले जनयुद्ध लडेको मुस्लिम छापामार, यसपटक उहाँलाई संसद लैजानुपर्छ भन्नुभएको थियो। मैले नै त्यो थाहा पाएको हुँ। तर मेरै जिल्लाका केन्द्रीय नेताहरूले मेरो नाम काटेर अर्को नाम राख्नुभयो। तथाकथित कार्यदलका नाममा त्यो भएको थियो। त्यसप्रति चाहिँ मेरो रोष छ,' उनले भनिन्।
उनले नेताहरूले पैसासँग पद साटेको समेत आरोप लगाइन्। र, यो भन्न आफूलाई कुनै पनि समस्या नरहेको बताइन्।
'मलाई यो भन्न कुनै अप्ठ्यारो छैन, जिल्लाका केही नेता पैसामा बिक्री हुनुभयो, समय आएपछि म उजागर गरौंला। उहाँहरू एउटाले लडेर आर्जन गरेको अवसर अर्काको भागमा पार्न लाग्नुभयो, यसप्रति मेरो चित्त दुखाइ हो,' उनले भनिन्।
हुन पनि जुन प्रणालीका लागि रविना लडेकी थिइन्, त्यही प्रणालीबाट आफू पाखा पर्नुपरेपछि उनले नयाँ ढंगले विद्रोह गरिन्।
हिजो प्रेसर कुकर बम बोकेर संघर्षको कठिन बाटो रोजेकी खातुन आज प्रेसर कुकर चिह्न लिएर चुनावी मैदानमा छिन्। जुन बस्तीमा आफू ओत लागिरहेकी छन्, त्यही समुदायको उत्थान र विकासलाई मूल बनाएर उनी चुनावी प्रतिस्पर्धामा होमिएकी छन्।
युद्ध मोर्चा सम्हालेकी उनलाई अब संसदीय खुला फाँट हेर्न रहर छ। आफ्ना लागि आफै नीति बनाउने अनौठो रहर जागेको छ।
'आज म नागरिककै भान्छाको भात खाएर उनीहरूकै खर्चमा चुनाव लडिरहेको छु। पैसा नभए पनि चुनाव लड्न सकिन्छ भन्ने मानक स्थापित गर्न पनि यो आवश्यक देखेँ,' उनले भनिन्।
उनका अनुसार समानुपातिक सूचीमा परेकाले समुदायले उनीप्रति आस गरिसकेको थियो। तर नाम काटिएपछि उनीहरू स्तब्ध भए। प्रत्यक्ष लड्न प्रेरित गरे। उनले पार्टीका नेताहरूसमक्ष कुरा पुर्याइन् पनि। तर प्रत्यक्षतर्फ अर्कै उम्मेदवार तय भइसकेका थिए। उनको नाम एक वर्षदेखि नै चर्चामा थियो।
नेकपाले कपिलवस्तु–१ बाट कृष्णबहादुर कुँवरलाई उम्मेदवार बनाएको छ।
त्यसपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने निधो गरिन्। पार्टीका नेताहरूले नउठ्न भनेका थिए। तर समुदायले नै पछि नहट्न भनेपछि उनीहरूलाई अघि लगाएर उनले उम्मेदवारी दर्ता गरिन्।
उनका अनुसार क्रमशः माहौल बनिरहेको छ। हिजो छुटेका आफन्त, नरनाता आज क्रमशः अभियानमा जोडिँदै गएका छन्। उनले आश्रय लिइरहेको समाज पनि एकट्ठा हुँदै गएको छ। उनका अनुसार उनीहरू मत जाहेर गर्न आतुर पनि छन्।
उनले ठूला प्रतिबद्धता अघि सारेकी छैनन्। छवटा विषयलाई प्राथमिता दिएकी छन्। मलखाद, सुकुम्बासी, महिला तथा बालबालिकाको समस्या समाधान गर्ने उनका प्रतिबद्धता छन्। निःशुल्क स्वास्थ्य, शिक्षाका लागि पहल गर्ने उनका योजना छन्। खेल क्षेत्रको विकासका लागि सुविधायुक्त रंगशाला, गरिब, पछाडि पारिएको जाति, समुदायको हक–अधिकारको पैरवी नै उनका मुख्य कार्यसूची हुन्।
'सबैको मद्दतमा चुनाव जित्छु जस्तो लागेको छ। समुदायको उत्थानको अवसर अरूको भागमा नपार्न खबरदारी गर्नका लागि पनि परिणाम पक्षमा पार्नै पर्ने भएको छ,' उनले अन्तिममा सुनाइन्।
***