३५ वर्ष मुनिका सांसद
करिब १४ वर्षअघिको कुरा हो। शिवशंकर यादव आफ्ना बुबालाई लिएर अस्पताल धाउँदै थिए। उनका बुबालाई मुखको क्यान्सर भएको थियो।
त्यति बेला १० कक्षा पढ्दै गरेका शिवशंकरले बुबाको उपचार क्रममा स्वास्थ्य सेवाको बेथिति र आम जनताको आर्थिक अवस्थाबारे बुझ्ने मौका पाए।
यादव आफैले पनि आर्थिक अवस्था कमजोर भएका कारण राम्रो स्वास्थ्य सेवा नपाएर बुबा गुमाउनुपरेको थियो।
त्यही घटना शिवशंकरका लागि राजनीतिमा लाग्ने 'टर्निङ प्वाइन्ट' बन्यो।
पैसा नभएर स्वास्थ्यजस्तो आधारभूत सेवाबाट वञ्चित हुनुपर्ने परिस्थिति अन्त्य गर्ने उद्देश्यका साथ उनले राजनीतिमा लाग्ने निधो गरे।
र, चौध वर्षअघिको त्यही निधोले शिवशंकरलाई अहिले सांसद पदसम्म पुर्याएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३० वर्षीय यादव सिराहा क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका उनी ३९ हजार ५६१ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याएका छन्।
यादव यसपालि पहिलो पटक चुनाव लडेका होइनन्।
यसअघि २०७९ सालमा उनले 'लौरो' चुनाव चिह्न भएको हामी नेपाली पार्टीबाट यही क्षेत्रमा उम्मेदवारी दिएका थिए। त्यति बेला उनी जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवसँग पराजित भए। राजकिशोरले २४ हजार १७८ मत ल्याएका थिए भने शिवशंकरको भागमा जम्मा ६९९ मत परेको थियो।
'त्यति बेला चुनाव हारे पनि मलाई प्रशस्त अनुभव भयो। सांसद बन्छु भनेर मैले सडक संघर्ष गरिरहेकै थिएँ,' उनले भने, 'राम्रो मत नआए पनि मेरा लागि त्यो चुनावमा राम्रो सिकाइ भयो।'
शिवशंकर राजनीतिशास्त्रका विद्यार्थी पनि हुन्। उनी राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन्। पढाइ सँगसँगै उनले व्यवसाय पनि गर्दै आएका छन्। उनी सात वर्षदेखि काठमाडौंमा होस्टल चलाइरहेका छन्।
पहिले तीनवटा होस्टल सञ्चालन गर्दै आएका उनको एउटा होस्टल कोभिड महामारी बेला बन्द भएको थियो। अहिले दुईवटा होस्टल सञ्चालनमा छन्।
पछिल्लो एक दशकमा शिवशंकर विभिन्न मुद्दा उठाउँदै सडक आन्दोलनमा पनि ओर्लिएका थिए।
'मैले २०७२ सालदेखि नै अन्याय र विभेदका मुद्दामा सडकबाट उठाउँदै आएको छु,' उनले भने, 'त्यस क्रममा प्रत्यक्ष राजनीतिमा आएर देश परिवर्तनको अभियानमा लाग्नुपर्छ भन्ने मेरो धारणा रह्यो।'
उनले चुनावी मैदानमा ओर्लिँदा जेनजी आन्दोलनलाई आधार मानेर मत मागेका थिए। जेनजी आन्दोलनले माग गरेको भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता र जबाफदेहितालाई आधार मानेर मत मागेको उनी बताउँछन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनमा उनी आफै पनि सक्रिय थिए। काउन्सिल अफ जेनजीमार्फत मधेस प्रदेशका संयोजक समेत भए। त्यसपछि उनी रास्वपामा प्रवेश गरेका हुन्।
'मैले विशेषगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जबाफदेहिता लगायत जेनजी आन्दोलनका मुद्दामा जोड दिँदै मत मागेँ। त्यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई पनि प्राथमिकता दिएँ,' उनले भने, 'गरिब नागरिकले सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्छ, म यो विषय संसदमा पनि उठाउने छु।'
आफ्नो निर्वाचन क्षेत्र मात्र होइन, देशभरि नै स्वास्थ्य र शिक्षा सुधारमा काम गर्ने प्रशस्त ठाउँ रहेको उनी बताउँछन्।
अबको संसदले नीति निर्माण सँगसँगै कार्यान्वयनको पाटोलाई पनि ध्यान दिने उनको भनाइ छ। सांसदको काम विकास गर्ने नभई नीति निर्माण बनाउने हो भन्ने उनको धारणा छ।
बेला बेला संसद विकास कोषको आवश्यकतामाथि उठ्ने बहसमा शिवशंकर भने त्यस्तो कोष आवश्यक नरहेको बताउँछन्।
'संसद विकास कोष राख्नु हुन्न। यसले सांसदहरू कानुन बनाउने आफ्नो वास्तविक कामबाट भट्किन्छन्। विकास निर्माणको काम कार्यपालिकाकै हो, व्यवस्थापिकाले त नीति निर्माणमै बढी फोकस हुनुपर्छ,' उनले भने।
***
यी पनि पढ्नुहोस्: