इरानले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म ऊर्जा संरचनामा प्रहार नगर्ने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले ४८ घण्टाभित्र इरानले हर्मुज नखोले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए। सबैभन्दा ठूला ऊर्जा केन्द्रहरूबाट सुरू गर्दै प्रायः सबै नष्ट गर्ने ट्रम्पले बताएका थिए।
त्यसको जबाफमा ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गरे मध्यपूर्वका सबैखाले पूर्वाधारमा आक्रमण गर्ने धम्की इरानले आइतबार दिएको थियो। यसले जारी युद्ध अझै भड्किएर खाडी क्षेत्रका सर्वसाधारणको जनजीविकामा नै प्रत्यक्ष असर पर्ने खतरा बढेको थियो।
तर ट्रम्पले दिएको ४८ घन्टाको म्याद सकिनुअघि नै उनले सोमबार पाँच दिनका लागि इरानी ऊर्जा संरचनामा प्रहार नगर्ने जनाए। पछिल्ला दुई दिनमा वैमनश्यताको पूर्ण समाधानका लागि इरानसँग धेरै राम्रो र फलदायी संवाद भएकाले त्यसो गरेको उनले सामाजिक सञ्जालमा खुलाए।
यसले २५ दिनदेखि जारी इरानसँगको युद्ध अन्त्य हुने आशा जगाएको थियो। तर ट्रम्पले तनाव कम गर्ने घोषणा गरेको केही बेरमै इरानका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकासँग त्यस्तो संवाद नभएको टिप्पणी गरे।
उनले ट्रम्पको घोषणालाई तेलको भाउले समस्यामा परेको बजारलाई आश्वस्त पार्न र इरानमाथि आक्रमण गरेर फसेको भूमरीबाट उम्किने उनको प्रयत्न भएको जिकिर गरे।
इरानले मंगलबार बिहानै इसराइल अनि साउदी अरेबिया, कुवेत र बहराइन लगायत खाडी राष्ट्रमा प्रहार गर्यो। इसराइलले पनि ट्रम्पको घोषणा लगत्तै सोमबार नै इरानी सैन्य संरचनामा प्रहार गरेको थियो।
यी सबै घटनाक्रमले युद्ध रोकिन लागेको हो कि होइन भन्ने संशय बढेको छ। गालिबाफले अमेरिकासँग कुरा नभएको दाबी गरे पनि इरानी विदेश मन्त्रालयले पछिल्ला दिनमा केही मित्र राष्ट्रसँग युद्धबारे कुरा भइरहेको स्वीकार गरेको छ।
अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले बिहीबार इजिप्ट, टर्की, साउदी र पाकिस्तानका विदेश मन्त्रीले साउदीको राजधानी रियादमा युद्ध अन्त्य गर्नेबारे छलफल गरेको लेखेको छ। त्यसपछि टर्कीले इरानसँग कुरा गरेको भनेको छ। बेलायती पत्रिका 'फाइनान्सियल टाइम्स' ले पनि पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरले आइतबार ट्रम्पसँग र प्रधानमन्त्री शेहबाज शरिफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग सोमबार कुरा गरेको जनाएको छ।
कतिपयले त संवाद सकारात्मक हुँदै गए यो साताको अन्त्यसम्म पाकिस्तानमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र गालिबाफले भेट गर्न सक्ने बताएका छन्। धेरै फलदायी नभए पनि ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले पाकिस्तानमा इरानी वार्ता टोलीसँग कुरा गर्ने बताइएको छ। केहीले भने त्यस्तो वार्ता टर्कीमा पनि हुन सक्ने बताएका छन्।
अमेरिकी अनलाइन 'पोलिटिको' ले त गालिबाफ इरानी डेल्सी रोड्रिगेज हुन सक्ने लेखेको छ। लगभग तीन महिनाअघि ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका थिए।
त्यसपछि उनले तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई भेनेजुएलामा शासन चलाउन दिएका छन्। गालिबाफसँग सहकार्य हुन सक्ने र उनकै नेतृत्वमा अमेरिकासँग वार्ता हुन सक्ने भनेर ट्रम्प सरकारका दुई अधिकारीको हवाला दिँदै पोलिटिकोले जनाएको छ।
गत हप्ता इरानको सर्वोच्च सुरक्षा परिषदका सचिव अलि लरिजानी मारिएपछि गालिबाफ अहिले इरानको सबभन्दा शक्तिशाली अधिकारी रहेको मानिन्छ।
पछिल्ला केही महिना इरानको शासन लरिजानीले चलाएको मानिन्थ्यो। गत डिसेम्बरको अन्त्यतिर विरोध प्रदर्शन व्यापक रूपमा फैलिन थालेपछि त्यसलाई दबाउन तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले लरिजानीलाई खटाएको मानिन्छ।
अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता खमेनीलाई मारेपछि खमेनीभन्दा निर्दयी मानिने उनका माइला छोरा मोज्तबा खमेनीलाई सर्वोच्च नेता घोषणा गरिएको छ।
तर अलि खमेनीमाथिको आक्रमणका क्रममा नजिकैको कोठामा रहेका मोज्तबा आफै गम्भीर घाइते भएको समाचार आएका छन्। उनको खुट्टा, हात र जीउमा चोट लागेको र उपचार भइरहेको मानिन्छ।
सायद त्यसैले सर्वोच्च नेता घोषणा भएयता उनको कुनै पनि तस्बिर वा भिडिओ सार्वजनिक भएको छैन।
मोज्तबाको स्वास्थ्य स्थिति कस्तो छ र शासनमा उनको भूमिका के छ भनेर अमेरिका र इसराइलले अहिलेसम्म ठोस जानकारी नपाएको पश्चिमा मिडियाले लेखेका छन्।
गत हप्ता इसराइली हमलामा नमरिउन्जेल इरानको शासन लरिजानीले नै चलाइरहेको मानिन्थ्यो। इरानमा सत्ता चलाउने भनिएको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजीसी) सँग लरिजानीको राम्रो सम्बन्ध थियो।
युद्ध सुरू हुनुअघि अमेरिकासँगको वार्ता लगायत अरू महत्त्वपूर्ण निर्णय लिन लरिजानीसँग कुरा गर्नुपर्ने भनेर इरानी राष्ट्रपति पेजेस्कियानले आफ्ना मन्त्रीहरूलाई भन्ने गर्थे भन्ने समाचार आएका थिए। लरिजानीको मृत्युपछि मोज्तबा र आइआरजिसी दुवैसँग राम्रो सम्बन्ध भएका गालिबाफ नै सबैभन्दा शक्तिशाली गैरसैनिक अधिकारी रहेको मानिन्छ।
सायद त्यसैले अमेरिकाले अहिले उनीसँग वार्ता गरिरहेको हुन सक्छ। गालिबाफ साँच्चै नै वार्ता गर्न हुँदैन भन्ने पक्षमा छन् भने अमेरिकाले उनलाई अप्ठ्यारो पार्न उनी इरानी 'डेल्सी रोड्रिगेज' हुन सक्ने भनेर नियतवश गलत सूचना चुहाएको पनि हुन सक्छ।
अब युद्ध रोकिन सक्छ कि सक्दैन भन्नेबारे चर्चा गरौं। यहाँ हामीले के भुल्नु हुन्न भने युद्ध रोक्ने कि नरोक्ने भन्नेबारे ट्रम्प नै अनिर्णित रहेको मानिन्छ। इसराइलको आग्रहमा युद्ध उनले सुरू गरे पनि अन्त्य उनले मात्रै गर्न सक्दैनन्। युद्ध रोक्न अब इरान पनि राजी हुनुपर्छ। त्यसैले युद्ध रोकिन्छ कि रोकिँदैन भनेर कसैले पनि ठोकुवा गर्न सक्दैन।
अमेरिकाले युद्ध सुरू हुनुअघि राखेकै आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने, ब्यालेस्टिक मिसाइल कार्यक्रमको विस्तार रोक्नुपर्ने, अरू देशमा विभिन्न समूह सञ्चालन नगर्ने लगायत १५ सर्त फेरि पनि इरानसामु राखेको बताइन्छ। त्यस बेला ती सर्त नमाने पनि अहिले युद्धले ठूलो नोक्सानी बेहोरेका कारण इरानले मान्न सक्ने अमेरिकी आकलन हुन सक्छ।
तर इरानले युद्ध सुरू भएपछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।
त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ। त्यसैले हर्मुज बन्द गरेर अमेरिकालाई अप्ठ्यारो पारेको बेला पहिले नै नमानेका कडा सर्त इरानले अहिले मान्ने देखिँदैन।
अर्कोतर्फ हर्मुज बन्द गर्न सफल भएर हौसिएको इरानले पनि झन् कडा सर्त राख्न थालेको छ। अमेरिकासँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि दुई पटक अमेरिकाले सैन्य आक्रमण गरेकाले फेरि पनि ट्रम्पले त्यसै गर्छन् भन्ने संशय हुनु स्वाभाविकै हो।
त्यसैले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी इरानले खोज्नु अन्यथा होइन। तर अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र हर्मुज प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि सार्वजनिक रूपमा तेर्स्याइएको छ।
यी सर्तहरू अमेरिकाले कुनै पनि हालतमा मान्दैन। जहाँ चाह्यो त्यहीँ हवाई आक्रमण गरेर इरानलाई ध्वस्त पारेको बेलामा त झन् मान्दैन। उसो त ट्रम्पले के गर्छन् भनेर भविष्यवाणी गर्न सकिँदैन। अरूले आफ्ना कदमबारे अनुमान गर्न नसकून् भनेर उनले नियतवश नै अप्रत्याशित निर्णय लिन्छन् भनिन्छ।
त्यसैले हर्मुजका कारण विश्व अर्थतन्त्रमा थप समस्या आउन थाले उनले इरानको सर्वोच्च नेता मारेको, आणविक भट्टी र मिसाइल कारखानाहरू लगायत सैन्य संरचनाहरू ध्वस्त पारेर विजय हासिल गरेको दाबी गर्दै युद्ध रोक्न सक्ने छन्। इरानले आणविक हतियार बनाउन खोजे फेरि आक्रमण गर्न सक्ने पनि औंल्याउने छन्।
तर हर्मुज नखोली युद्ध रोके इरानले आफूले युद्ध जितेको ठहर्याउनेछ। अनि हर्मुजको प्रयोग गरेबापत शुल्क माग्न सक्नेछ। यस्तो कुरा अमेरिका मात्रै होइन, इरानको छिमेकमा रहेका साउदी र संयुक्त अरब इमिरेट्स (युएई) लगायत देशले पनि मान्दैनन्।
कतिपयले इरानले हर्मुजलाई स्वेज र पनामा नहरसँग तुलना गर्दै शुल्क उठाउन सकिने जिकिर गर्छन्। तर स्वेज र पनामा मानव निर्मित नहर हुन् भने हर्मुज प्राकृतिक जलमार्ग हो। कतिले हर्मुजलाई टर्की नजिकै रहेको बसफरस जलमार्गसँग पनि तुलना गर्छन्।
टर्कीले बसफरस प्रयोग गर्ने जहाजलाई शुल्क लगाए जस्तै इरानले पनि लगाउन सक्ने भन्छन् तर बसफरस टर्कीभित्रै पर्छ। अनि टर्कीले स्वेज र पनामाले जस्तो उच्च शुल्क पनि लिँदैन। जलमार्ग प्रयोग गरेको भन्दा पनि त्यसको प्रयोगका क्रममा दिने सुरक्षा लगायत सुविधाका लागि न्यून शुल्क लिन्छ।
हर्मुज प्रयोग बापत एउटा किनारमा रहेको इरानले शुल्क लिए अर्को किनारको ओमानले पनि त्यस्तो दावी गर्न सक्छ। अलिक टाढा रहेका युएई र साउदीले पनि इरानको जस्तै ड्रोन वा मिसाइल आक्रमण गरेर हर्मुजमा चल्ने जहाजलाई धम्की दिन सक्नेछन्।
इरानले आफ्ना संरचनामा लगातार प्रहार गरेपछि पछिल्ला दिनमा साउदी आफै इरान विरूद्धको युद्धमा होमिन तयार रहेको मानिन्छ। इरानले आफूमाथि प्रहार गरेपछि युएईले पनि दुबई लगायत आफ्ना सहरमा रहेको इरानी लगानीमा कडाइ गर्न थालेको छ।
यस्तोमा वार्ताबाट समाधान भएन भने अमेरिकाले बल प्रयोग गरेर भए पनि हर्मुज खुलाउन खोज्नेछ। त्यसो भएमा साउदीले समेत आफ्नो सेना इरान विरूद्ध परिचालन गर्न सक्नेछ।
इरानी ऊर्जा केन्द्रमा पाँच दिनसम्म प्रहार नगर्ने ट्रम्पको घोषणा पनि अर्थपूर्ण छ। अमेरिकाले पछिल्लो समय समुद्रबाट स्थल आक्रमण गर्न सक्ने दुइटा सैन्य टुकडी इरानतर्फ परिचालन गरेको छ। अत्याधुनिक लडाकु विमान, हेलिकप्टर र साना नाउहरू सहित करिब २२ सयदेखि २५ सय सैनिक रहेका ठूला युद्धपोत अमेरिकाको पश्चिम किनार र जापानदेखि मध्यपूर्वतर्फ लागेका छन्। त्यसमध्ये जापानबाट गएको टुकडी लगभग पाँच दिनमा मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ।
त्यतिन्जेलसम्म पनि इरानले वार्ताबाट समाधान खोज्न नमाने अमेरिकाले इरानको खर्ग टापूमा कब्जा गर्न सक्नेछ।
इरानको ९० प्रतिशत तेल निर्यात हुने खर्ग टापूमा लगभग १० दिनअघि भीषण आक्रमण गरेर सबै सैन्य संरचना ध्वस्त पारेको ट्रम्पले घोषणा गरेका थिए। जापानबाट आइपुगेका सेना परिचालन गरेर उनले सो टापु कब्जा गर्न सक्छन्।
त्यसो गरे इरानको तेलबाट हुने आम्दानी बन्द हुनेछ। अहिले धम्की दिए जस्तै बिजुली उत्पादन गर्ने केन्द्रमा प्रहार नै नगरे पनि खर्ग टापू अमेरिकी नियन्त्रणमा गए इरानलाई अप्ठ्यारो हुनेछ।
अर्कोतर्फ हर्मुज लगातार बन्द भइरहे र इरानले छिमेकका तेल खानीहरूमा समेत आक्रमण गरे अमेरिका र खाडी राष्ट्रहरू सबैलाई मुस्किल पर्नेछ।
युद्ध चर्किँदै गए दुवैतर्फ पीडा बढेर असह्य हुनेछ भन्ने साँच्चै महसुस गरेको दिन अमेरिका र इरान दुवै युद्ध अन्त्य गर्न राजी हुनेछन्। त्यसैले वार्ता भएर केही दिनमै युद्ध रोकिने सम्भावना जीवितै छ।