सांसदहरूले संसदमा प्राय: उठाउने साझा विषयमध्ये एउटा हो — बाँदर आतंक।
पहाड र मधेसमा बाँदर र बँदेलले बाली खाएर सताउने गरेको छ।
किसानहरूले आफ्ना प्रतिनिधि सांसदहरूमार्फत् सरकारलाई बाँदर नियन्त्रण गर्न दीर्घकालीन उपाय खोजी गर्न भनेको लामो समय भइसक्यो।
जनप्रतिनिधि, सरकार त फेरिन्छन् तर बाँदर समस्या भने उस्तै छ। त्यसैले सांसदहरूले उठाउनेमध्ये एउटा साझा समस्या हो- बाँदर।
नेकपा एमालेका सांसद राजेन्द्र राई बाँदरले सताएका किसानका दुखेसो सुनेर नाजबाफ छन्।
उनले आज यो कुरा प्रतिनिधि सभा बैठकमै खुलाएका थिए।
‘आज १० बजे संसदमा आइपुगेको थिएँ, फोन आयो। धनकुटा नगरपालिका ९ की सुनिता राईले फोन गर्नुभएको रहेछ। उहाँले मेरो घरको बार्दलीमा सुकाएको बच्चाको लुगा हरायो भन्नुभयो। कसले लग्यो भनेर सोध्दा बाँदरले भन्नुभयो। बाँदरले भात खान दिएन, बच्चाको लुगा पनि लैजान थाल्यो भनेपछि मैले के जबाफ दिने?’ उनले सभामुखमार्फत् सरकारलाई प्रश्न गरे।
बाँदर नियन्त्रणमा सरकार गम्भीर नभएको उनको भनाइ थियो।
‘मानिसले बदमासी गरे पुलिसले समाएर लैजान्छ, जेलमा थुन्छ। आज बाँदरले सयौं मानिसको बास उठाएको छ, दात-भात-तरकारी खान दिएको छैन, जनताको जीवनमा समस्या ल्याएको छ, बाँदर नियन्त्रण गर्न सकिएन भने जनताको जीवन परिवर्तन गर्न गाह्रो छ,’ उनले भने, ‘कानुन बनाएर हुन्छ कि कुनै उपाय निकालेर हुन्छ, अब सात दिनभित्र बाँदर समस्या समाधान भएन भने यहाँ प्रत्येक सांसदले कुरा उठाउँछन्, संसद चल्न गाह्रो हुन्छ,’ उनले चेतावनी शैलीमा भने।
प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफूले ७ वर्षदेखि बाँदर नियन्त्रणबारे कुरा उठाउँदै आएको बताए।
उनले बाँदर भगाउन अनुसन्धान गर्नुपर्नेमा जोड दिए। विगतमा आविष्कार केन्द्रले अनुसन्धान गर्ने प्रयोजनका लागि स्थानीय तहहरूसँग बजेट विनियोजनको प्रस्ताव गरेको उनले सम्झिए।
‘बाँदर आतंकका कुरा सबै सांसदहरूले उठाउनुभएको छ। यो कुरा मैले ७ वर्षदेखि उठाइरहेको छु र यसका लागि अनुसन्धान गर्न राष्ट्रिय आविस्कार केन्द्रले प्रयास पनि गरेको हो। हरेक गाउँपालिकालाई एक-एक लाख उठाउनुस् भनेको हो, १०० पालिकाले उठाए एक करोड हुन्थ्यो, अनुसन्धान गर्न हुन्थ्यो,’ उनले भने, ‘अनुसन्धान गरेपछि कसरी बाँदर नियन्त्रण गर्ने उपाय पत्ता लाग्ला, संसदमा कराएर केही हुनेवाला छैन, यहाँ धेरै सांसदहरू कराएको सुनियो।’
उनले बाँदर बाठो जनावर रहेकोले एउटा मात्र उपायले आतंक कम गर्न नसकिने पनि बताए।
‘बाँदरलाई कसरी हटाउने, बरू रकेट बनाउन सजिलो छ, प्रविधि छ तर बाँदरलाई धपाउने प्रविधि संसारभर मैले खोजेको हो, भेटिनँ, यसका लागि पाँच/सात करोड बजेट अनुसन्धानमा खर्च गर्नुपर्छ,’ उनले भने।
साथै अहिलेको संघीय सरकारले बाँदर भगाउने उपाय पत्ता लगाउने उद्देश्यले अनुसन्धान टिम बनाउन लागेको सुनिएको उनले बताए।
‘अहिलेको सरकारले एउटा टिम गठन गर्दैछ भन्ने सुन्नमा आएको छ, त्यो टिममा मलाई पनि राख्नु भनेको छु, बाँदर आतंक कसरी कम गर्ने भनेर अनुसन्धान गरेर उपाय निकाल्ने हो, बाँदर बुद्धिमानी जनावर हो, बाँदरलाई भगाउन कोही पनि वैज्ञानिकले उपाय निकाल्न सकेको छैन, एउटा उपायले हुँदा पनि हुँदैन,’ सांसद पुनले भने।
सांसद पुनले बाँदर भगाउने उपाय निकाल्न वैज्ञानिकहरूले सकेका छैनन् भन्ने कुरा गर्दा सत्तारूढ रास्वपा सांसदहरूले टेबल बजाएका थिए।
लगत्तै राप्रपा सांसद खुस्बु ओलीले बोल्न समय मागिन्।
‘जनावरहरूको जीवन रक्षाका लागि सक्रिय रहने सांसदहरू यहाँ हुनुहुन्छ, बाँदरको विषयमा कुरा राख्दा र धपाउने यन्त्र छैन भन्दा यो सदन हास्ने? किसानहरू पीडामा छन्, संवदेनशीलत विषयमा हास्ने सांसदहरूको व्यवहारमा आपत्ति छ,’ उनले भनिन्, ‘बाँदरकै कारण घरबार छाडेर हिँड्नुपर्ने अवस्था छ, कृषिमा आधारित अर्थतन्त्र भएको यो मुलुकमा।’
स्वतन्त्र सांसद महावीर पुनले बाँदर भगाउने उपाय छैन भनिराख्दा रास्वपा सांसद आशिका तामाङले केही उपाय सुनाइन्।
‘बाँदर र बँदेल आतंक छ, यो किसानहरूको ठूलो समस्या हो। बाँदरलाई मार्ने होइन, दीर्घकालीन रूपमा नियन्त्रणको उपाय खोजी गर्नुपर्छ,’ उनले भनिन्, ‘बन्दुक, पटका पड्काउने वा पुतला बनाएर राख्ने अस्थायी उपाय हो, अब हामीले नयाँ ढंग र दीर्घकालीन उपाय खोजी गर्नुपर्छ।’
उनले बाँदर जंगलमै भुल्ने गरी जंगलमै पर्याप्त फलफूल रोप्नुपर्ने बताइन्। साथै बाँदरलाई मन नगर्ने बाली अदुवा, बेसार, खुर्सानी, रबर वा गाँजा खेती गर्न किसानलाई प्रोत्साहन गर्न सकिने उनको भनाइ छ।
साथै उनले पहाडमा फलामे काँडेतारबार र मधेसमा सोलार जडित तारबार लगाउन सके बाँदरबाट कृषि बाली क्षति कम गर्न सकिने पनि बताइन्। ‘मधेसमा सोलार जडित तारबार तत्काल लगाउन सकिन्छ, पहाडमा फलामे तारबार लगाए हुन्छ, यो संसार सबै प्राणीको साझा थलो हो,’ उनले भनिन्।
बाँदरले संसदमा पहिलो पटक कुरा उठेको भने होइन।
बाँदरले कृषि बालीमा क्षति पुर्याएकोले नियन्त्रण गर्नुपर्नेमा विगतमा पनि सांसदहरूले आवाज उठाउने गरेका थिए।
तत्कालीन नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले २०८१ फागुन १२ गते प्रतिनिधि सभामा बाँदर नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका थिए।
बाँदर र बँदेलका कारण खेतीबाली नष्ट भएको र किसानहरूको सुरक्षामा समेत असर परेको उनको भनाइ थियो।
साथै नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा कृषि समिति सभापति रहेका बेला उनीसहित समितिका सांसदहरू बाँदर नियन्त्रणबारे अध्ययन गर्न भारत भ्रमणमा समेत गएका थिए।
२०८० माघमा समितिकी सभापति राणाले कृषि समितिका २० जना सांसद बाँदरको बन्ध्याकरणमार्फत् नियन्त्रणबारे भारतको हिमाचलमा अध्ययनका लागि जान लागेको सभामुखलाई जानकारी गराएकी थिइन्।
२०७४ को चुनावपछिको संसदमा तत्कालीन नेकपाका सांसद नवराज सिलवालले आफ्नो निर्वाचन क्षेत्र ललितपुरमा अन्यत्र ठाउँबाट बाँदर ल्याएर छाडिएको भन्दै आपत्ति जनाएका थिए।