अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनालाई लक्षित गर्दै ठूलो हवाई हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामाथि जबाफी आक्रमण गरेको छ।
पछिल्लो घटनाक्रमले केही सातादेखि तुलनात्मक रूपमा शान्त रहेको अमेरिका–इरान द्वन्द्वलाई फेरि गम्भीर रूपमा चर्काएको छ।
अमेरिकी आक्रमणपछि इरानले जोर्डन, बहराइन र इराकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ।
यससँगै विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुजमा तनाव थप बढेको छ।
यस घटनाक्रमको प्रभाव विश्व बजारमा समेत देखिएको छ।
मंगलबार अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर पाँच सातायताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
युद्ध सुरु भएपछि इरानले स्ट्रेट अफ हर्मुजबाट हुने तेल ढुवानी प्रभावकारी रूपमा बन्द गरिदिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार मंगलबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का विभिन्न संरचनामाथि आक्रमण गरिएको थियो।
आक्रमणमा हवाई प्रतिरक्षा प्रणाली, रडार, समुद्री सैन्य संरचना, सञ्चार केन्द्र तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने क्षमता र त्यससँग सम्बन्धित संरचनालाई निशाना बनाइएको थियो।
इरानी सञ्चारमाध्यमहरूले इरानका विभिन्न क्षेत्रमा अमेरिकी आक्रमण भएको जनाएका छन्।
अहभाज सहरनजिक अमेरिकी मिसाइल आक्रमण भएको तथा दक्षिणपूर्वी इरानको जिरोफ्टस्थित नागरिक विमानस्थललाई समेत निशाना बनाइएको उनीहरूको दाबी छ।
दक्षिणपूर्वी बन्दरगाह सहर चाबहार, स्ट्रेट अफ हर्मुजमा पर्ने बन्दर अब्बास तथा खाडीको महत्वपूर्ण ग्यास केन्द्र असालुयेहमा विस्फोटका आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।
इरानी सरकारी टेलिभिजनले स्ट्रेट अफ हर्मुजको उत्तरी भागमा रहेको किस्म टापुमा समेत विस्फोट भएको जनाएको छ।
यसैबीच इरानको सिरिकनजिक भएको एउटा विवाह समारोहमा अमेरिकी आक्रमणबाट पाँच जनाको मृत्यु भएको र ५० जना घाइते भएको इरानी रेड क्रिसेन्टले जनाएको छ।
मेहर समाचार संस्थाले मृत्यु हुनेमध्ये चार वर्षका एक बालकसमेत रहेको जनाएको छ।
इरानको आईआरजीसीले अमेरिकी आक्रमणले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण अझ कडा बनाउने चेतावनी दिएको छ। युद्धअघि विश्वभर खपत हुने प्रत्येक पाँच ब्यारेल तेलमध्ये एक ब्यारेल यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले भनेका छन्, 'यदि शत्रुहरूले हामीलाई फारसको खाडीबाट तेल निर्यात गर्न नदिने हो भने, कसैले पनि तेल निर्यात गर्न पाउने छैन।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानलाई जवाफी कारबाही नगर्न चेतावनी दिएका छन्। उनले इरानले अमेरिकी आक्रमणको जवाफ दिए अझ ठूलो र कडा सैन्य कारबाही गर्ने धम्की दिएका छन्। तर ट्रम्पको चेतावनीका बाबजुद इरानले जवाफी कारबाही गरेको छ।
आईआरजीसीले जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामाथि ठूलो ब्यालिस्टिक मिसाइल आक्रमण गरेको र त्यसबाट अमेरिकी सैनिक मारिएको दाबी गरेको छ।
तर दुई अमेरिकी अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार प्रारम्भिक सूचनामा जोर्डनमा भएको इरानी आक्रमणबाट अहिलेसम्म कुनै अमेरिकी सैनिक हताहत नभएको बताएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार बहराइनमा रहेको अमेरिकी सैन्य अड्डालाई पनि ठूलो ड्रोन आक्रमणबाट निशाना बनाइएको थियो। यता कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको जनाएको छ।
जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका १३ वटा ब्यालिस्टिक मिसाइलमध्ये १० वटा खसालेको र तीनवटा दुर्गम क्षेत्रमा खसेको जनाएको छ। बहराइनले पनि इरानी ड्रोनहरूलाई आफ्नो क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरिएको जनाएको छ।
आईआरजीसीले उत्तरी इराकको एर्बिल क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि पनि मिसाइल र ड्रोनबाट संयुक्त आक्रमण गरिएको दाबी गरेको छ।
उसका अनुसार आक्रमणमा मर्मत केन्द्र, प्राविधिक उपकरण राखिएका गोदाम तथा अमेरिकी निगरानी बेलुन नियन्त्रण गर्ने प्रणालीमा क्षति पुगेको छ।
अमेरिका र इरानबीच पछिल्लो केही समयदेखि प्रत्यक्ष सैन्य भिडन्त तुलनात्मक रूपमा कम भएको थियो। जुलाईपछि पहिलोपटक गत सप्ताहन्तमा दुवै पक्षबीच पुनः गोली हानाहान भएको थियो। त्यसपछि सोमबार स्ट्रेट अफ हर्मुजबाट बाहिरिँदै गरेका दुईवटा तेल ट्यांकरमाथि आक्रमण भएको थियो।
यसअघि आइतबार अमेरिकी सेनाले इरानको लाराक टापुमाथि आक्रमण गरेको थियो। त्यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अड्डालाई मिसाइल प्रहार गरेको थियो।
६ महिनादेखि जारी द्वन्द्व पछिल्लो समय सैन्य संघर्षभन्दा बढी आर्थिक दबाब र तेल आपूर्तिको गतिरोधतर्फ मोडिएको थियो। तर पछिल्ला अमेरिकी हवाई आक्रमण र इरानको जवाफी कारबाहीले द्वन्द्व फेरि प्रत्यक्ष सैन्य टकरावतर्फ फर्किएको छ।
अमेरिका र इरानबीच जुन महिनामा युद्धविरामसम्बन्धी सहमति भएको थियो।
तर उक्त सहमति लामो समय टिक्न सकेन। विशेषगरी स्ट्रेट अफ हर्मुजमाथि इरानको नियन्त्रण र त्यसबाट हुने तेल ढुवानीका विषयमा दुवै पक्षबीच फरक व्याख्या भएपछि सहमति भत्किएको हो।