नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र रहेका तीन वटा समूहमा रहेका नेताहरूसँग आज कुराकानी गरेका छन्।
सम्पर्क कार्यालय विशालनगरमा भएको छलफलमा सभापति गगन थापानिकट, निवर्तमान सभापति शेरबहादुर देउवानिकट र कोइराला निकट नेताहरू तथा केही सांसदहरू पनि सहभागी थिए।
पार्टीभित्र देखिएको मतभेदलाई समाधान गर्ने पहलस्वरूप कोइरालाले छलफल गरेको नेताहरूले बताएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनदेखि नै कांग्रेसभित्र मतभेद छ। देउवा र कोइराला पक्षका अधिकांश नेता विशेष महाधिवेशनमा सहभागी थिएनन्।
निवर्तमान सभापति देउवा पक्षले भोलि बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक आह्वान गरेका छन्। यो बैठकबाट बेग्लै महाधिवेशन कार्यतालिका ल्याउने तयारी छ। उक्त छलफलअघि कोइरालाले पार्टीभित्रका विभिन्न पक्षनिकट नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा पूर्वउपसभापति धनराज गुरूङ, पूर्वसहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, नेताहरू मीनेन्द्र रिजाल, बलबहादुर केसी, सुजाता कोइराला, गोविन्दराज पोखरेल, रामहरि खतिवडा, रञ्जित कर्ण, किरण पौडेल, रिना उप्रेती, गीता देवकोटालगायत उपस्थित थिए।