राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबीच भेट भएको छ।
सभापति लामिछानेको बूढानीलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको हो।
भेटमा राजदूत मिङ्ले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरे।
खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए।
विपद्लगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञ लगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।
नेपालको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण रहने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे।