प्रणालीमा सुधारको अपेक्षा राख्नु र त्रुटिहरू औँल्याउनु सचेत नागरिकको जिम्मेवारी मात्र होइन, अधिकार पनि हो। तर जब रचनात्मक आलोचनाको सीमा नाघेर सतही गालीगलौजले प्रश्रय पाउँछ, तब त्यसले सुधार होइन, बरु सेवाको जगलाई नै कमजोर बनाउँदै लैजान्छ।
विडम्बना त के छ भने, आजकल चिया पसलदेखि सामाजिक सञ्जालसम्म एउटा होडबाजी चलेको छ- सार्वजनिक प्रशासनलाई सत्तोसराप गर्ने। बाहिर बसेर टिप्पणी गर्नेहरू भन्छन्- सबै कर्मचारी लुटेरा हुन्, यिनीहरूले नै गर्दा हो देश बिग्रिएको यस्ता सतही र नकारात्मक आरोपहरू सुन्दा, आफ्नो सम्पूर्ण जीवन र सपना यही सेवामा समर्पित गर्ने इमानदार राष्ट्रसेवकको मनस्थितिमा परेको गहिरो प्रभावलाई कसरी र कसले महसुस गर्ने?
निःसन्देह सम्पूर्ण कर्मचारी इमानदार नहुन सक्छन्। गलत काम गर्नेलाई त महसुस होला तर बाँकी अन्यलाई नखाएको विष लगाउन खोज्दा कसरी सहजै स्विकार्न सकिन्छ यस्ता आरोपहरू?
सार्वजनिक प्रशासनलाई बाहिरबाट हेर्दा जोकोहीले पनि अक्सर एउटै वाक्य दोहोराउँछन्- एउटा कुहिएको आलुले सिंगो डालो भरिको आलु कुहाउँछ। तर त्यो डालोभित्रका अरू ताजा आलुहरू कुन दबाबमा कोचिएका छन् र कुन प्रतिकूल वातावरणमा आफ्नो अस्तित्व जोगाइरहेका छन् भन्ने कुरा कहिले, कसले नियाल्ने?
अनेकौँ सपनासहित जोस जाँगर बोकेर सार्वजनिक सेवामा प्रवेश गरेका नवप्रवेशी कर्मचारीहरूलाई समाजको नकारात्मक दृष्टिकोण र प्रणाली प्रतिको निरन्तर आलोचनाले गर्दा उनीहरूको मनोबलको अवस्था को विचार कसले गर्ने?
सार्वजनिक प्रशासनप्रति अन्धाधुन्ध लगाइने नकारात्मक आलोचना र जथाभाबी आरोपले कसरी कर्मचारीले आफूलाई सुरक्षित र सम्मान महसुस गर्दै उसको सृजनशीलतालाई जीवित राख्ने?
बाहिर बसेर सधैँ कर्मचारीलाई अपमानको दृष्टिले हेर्नेहरू बढ्दो महँगी र सामाजिक पारिवारिक दबाबका बिच न्यूनतम सुविधामा आफ्नो र परिवारको जीवन गुजारा गरिरहेका राष्ट्रसेवकहरूको जीवनशैली कति कष्टकर छ त्यो चाहिँ किन नदेख्ने?
सार्वजनिक प्रशासनको सफलता केवल फाइलको गरी र कानुनको मतिमा मात्र होइन, त्यहाँ काम गर्ने कर्मचारीहरूको उच्च मनोबलमा समेत लुकेको हुन्छ। जब एउटा कर्मचारी सामान्य कार्यस्थलमा मात्र पनि सुरक्षित र सम्मानित महसुस गर्छ तब मात्र उसले हृदयदेखि नै मुस्कानसहितको सेवा दिन सक्छ।
अन्ततः इमानको कदर, श्रमको सम्मान र सकारात्मक प्रोत्साहन भएको प्रशासनले मात्र देशलाई समृद्धिको दिशामा डोर्याउन सक्छ।