गुठी संस्थानले व्यापारिक ‘कम्प्लेक्स’ बनाउने नाममा भत्काउन आँटेको असनको अशोक वृक्ष विहार कम्तीमा पाँच सय पुरानो भएको पुरातत्व विभागले पुष्टि गरेको छ।
पुरातत्व अधिकृत प्रकाश खड्काले स्थलगत अध्ययन गरी उक्त निष्कर्ष निकालेका हुन्।
‘भुइँतलाका इँटा र गारोको प्रकृति हेर्दा पन्ध्रौं–सोह्रौं शताब्दीमा स्थापना भएको अनुमान हुन्छ,’ उनले यही वैशाख २२ गते विभागका महानिर्देशकसमक्ष पेस गरेको प्रतिवेदनमा उल्लेख छ।
पुरातत्वको यस्तो निष्कर्षले अशोक वृक्ष विहार रहेको असनको ‘घडीघर’ कम्तीमा पाँच सय वर्ष पुरानो भएको पुष्टि हुन्छ।
आठ आना तीन दाम क्षेत्रफलमा बनेको यो घरमा एकै छतमुनि १३ वटा पसल छन्। तीन परिवार बसोबास गर्छन्। घरको एउटा कोठामा अशोक वृक्ष विहार पनि छ। पुरातत्वले ‘पन्ध्रौं–सोह्रौं शताब्दीमा बनेको’ भन्नुले विहारको मात्र होइन, सिंगो घरकै आयु खुलाउँछ।
पुरातात्विक महत्वका आधारमा संरक्षण गरिनुपर्ने यही घर भत्काएर ‘कम्प्लेक्स’ बनाउन गुठी संस्थानले ‘बज्रयोगिनी बहुउद्देश्यीय कम्पनी’ नामक व्यापारिक संस्थासँग सम्झौता गरेको हो।
असनको घडीघर। तस्बिर: नारायण महर्जन/सेतोपाटीसम्झौताअनुसार उक्त व्यापारिक समूहले २७ वर्ष यहाँ अकन्टक कारोबार गर्न पाउनेछ।
यसले ‘सन्तान दर सन्तानदेखि’ यहाँ बस्दै र व्यापार गर्दै आएकाहरूको उठिबास मात्र हुने छैन, एउटा मल्लकालीन सम्पदा पनि मासिनेछ।
मल्लकालमा ‘व्यापारिक केन्द्र’ का रूपमा विकास गरिएको यो घरलाई नेपालकै पहिलो ‘डिपार्टमेन्ट स्टोर’ मानिन्छ। यहाँको अशोक वृक्ष विहारमा अमिताभ बुद्धको मन्दिर छ, जसलाई स्थानीयहरू ‘क्वापा द्यः’ भन्छन्।
पुरातत्व अधिकृत खड्काले आफ्नो प्रतिवेदनमा विहारको वास्तुकला वर्णन गरेका छन्, जसअनुसार अमिताभ बुद्धको मूर्ति ध्यानमा मुद्रामा छ।
मूर्तिको जलहरीमुनि बीचमा आगो र दायाँबायाँ वाहन मयूर कुँदिएका छन्। मूर्तिमा छातीभन्दा माथि रक्त वर्ण देखाउन रातो रङ पोतिएको छ। शिरसहित बाँकी सबै भागमा कालो रङ लगाइएको छ।
‘कपालको शैली, अनुहार, कानको बनावट, ओठ, वस्त्र आदिको कला अध्ययन गर्दा यो मूर्ति पन्धौं–सोह्रौं शताब्दीको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
सर्वोच्च अदालतले २०५८ मंसिर २५ को एक फैसलामा उल्लेख गरेबमोजिम यो विहार विक्रम सम्बत १७३८ मै अस्तित्वमा रहेको पुरातत्वले जनाएको छ।
विहारमा हरेक वर्ष पञ्चदानको दिन ठूलो उत्सव हुन्छ। शाक्य, बज्राचार्यहरू भिक्षा माग्न आउँछन्। उनीहरूलाई गक्षअनुसार चामल, नुन, पैसा दान दिने चलन छ।
गुठी संस्थानले यस्तो पुरातात्विक र सांस्कृतिक महत्वको विहारसहित ‘घडीघर’ मास्न आँटेको विरोधमा स्थानीयले शुक्रबार दिउँसो ३ बजे असनमा बृहत जनसभा आयोजना गर्दैछन्।
काठमाडौंका सांसदहरूलाई असन डाकेर गुठी संस्थानको नियत पर्दाफास गर्ने स्थानीय सजीव बज्राचार्यले बताए।
सजीव बज्राचार्य आफ्नो मसला पसलमा। तस्बिर: सेतोपाटीप्राचीन स्मारक ऐन, २०१३ ले देवीदेवताको मन्दिर, चैत्य लगायत सम्पदा मौलिक रूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा असनको घडीघर भत्काउनु उक्त कानुन उल्लंघन हो।
करारविपरीत पसलबाट हटाउन खोजेको र सम्पदा मास्न खोजेको भन्दै स्थानीयले जिल्ला अदालतमा मुद्दा पनि हालेका छन्। जेठ ६ गते तारेख छ।
घडीघरको इतिहास बुझ्न काठमाडौंको मल्लकालीन सहरी संरचना थाहा पाउनुपर्छ।
मल्लकालमा काठमाडौंभित्र चारथरीका सार्वजनिक स्थल थिए। वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो थियो, जहाँ राज्यभरका मान्छे जमघट हुन्थे।
दोस्रो तहमा इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोक पर्छन्। यी मल्लकालीन ‘मार्केट स्क्वायर’ हुन्। तेस्रोमा सहरभित्रका बहाल पर्छन्। योभन्दा भित्र चौथो तहका स–साना चोक हामी देख्छौं।
असन, अन्नपूर्ण मन्दिर सामुन्नेको 'घडीघर' दोस्रो तहको सार्वजनिक स्थलसँग जोडिन्छ।
मल्ल राजाहरूले ‘मार्केट स्क्वायर’ को अवधारणामा असन चोक बनाए। पसलहरू विकास गरे। असनको यो घर त्यतिबेलाकै सबभन्दा ठूलो किनमेल थलो थियो।
पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि उनका छोरा बहादुर शाहले यो घर हड्पेको भनाइ छ।
उनले दरबारमा मरेका वा मारिएका मान्छेको आत्माको शान्तिका लागि पूजाआजा गराउन ‘श्री ५ वायुदेवता गुठी’ चलाए। गुठीले यही घरबाट हनुमानढोकासम्म पूजा लैजान थाल्यो।
पूजाको प्रबन्ध मिलाउने सुसारेहरू धेरै पछिसम्म यहीँ बस्ने गरेको सजीव सम्झन्छन्।
यो नियम राजा वीरेन्द्रको पालासम्म चल्यो। घरबहालबाट उठेको पैसाले दसैं बेला हनुमानढोकामा पूजा लगिन्थ्यो। यो चलन कायम छ।
.JPG)
यति मात्र होइन, नापीको कागजमा ‘श्री ५ वायुदेवता गुठी सञ्चालन गर्ने चौतारिया चित्रविक्रम शाह, रेशमविक्रम शाह, चुँडाविक्रम शाह लगायत’ को नाम पनि उल्लेख छ। पहिले घर बहाल उठाउन उनीहरू नै आउँथे।
पछि २०३१ सालमा नापी विभागका अधिकारी यहाँ फित्ता लिएर कित्ताकाट गर्न आए। वरपरका सबैले लालपुर्जा पाए, यो घरमा भने पसलहरू स–साना कित्तामा बाँडिएकाले नापीले सबैको एकीकृत ‘फिल्डबुक’ बनाएर गयो।
उक्त फिल्डबुकमा ‘सन्तान दर सन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको’ उल्लेख छ।
गुठी संस्थानले २०७० फागुन ८ गते गरेको करार सम्झौतामा पनि ‘सन्तान दर सन्तानदेखि बसी आएको’ भनिएको छ। उक्त करार २०७० फागुन १ देखि लागू भएको हो। पाँच वर्षको म्याद छ। त्यसपछि पनि हटाउने व्यवस्था छैन।
बरू प्रत्येक पाँच वर्षमा बहाल पुनरावलोकन गर्ने भनिएको छ। पुनरावलोकन गर्दा पाँच प्रतिशत वृद्धि हुनेछ। यसमा दुवै पक्षले मञ्जुरी गरेका छन्।
यो सम्झौताअनुसार बहालवालाले नियमित भाडा बुझाएसम्म हटाउन मिल्दैन। महिना गुज्रेको ६० दिनभित्र बहाल चुक्ता नगरे बल्ल पसल कब्जामा लिन सकिने उल्लेख छ।
यही प्रावधानमा टेकेर बहालवालाले आफूमाथि अन्याय भएको दाबी गर्दै आएका छन्।
गुठी संस्थानले भने २०७२ को भुइँचालोमा जीर्ण भएकाले पुनर्निर्माण गर्न लागेको तर्क गरेको छ। यहाँका बसोबासी यो तर्कसँग सहमत छैनन्।
‘१९९० को महाभूकम्पमा यो घर पूर्ण रूपमा क्षति भएपछि हाम्रा पुर्खाले संरचनामा कुनै फेरबदल नगरी जगदेखि नै पुनर्निर्माण गरेको इतिहास छ,’ स्थानीयले गुठीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।
२०७२ को भुइँचालोपछि सम्बन्धित निकायबाट घर निरीक्षण गर्दा बस्नयोग्य ठहर गरी ‘रातो स्टिकर’ नटाँसिएको ज्ञापनपत्रमा उल्लेख छ।
यस आधारमा पूरै भत्काउनुको साटो ‘रेट्रोफिट’ गरेर यसको मौलिक स्वरूप जोगाउन सकिने यहाँका बसोबासी बताउँछन्।
पुनर्निर्माण नै गर्नुपर्ने भए पनि भोगचलन गर्दै आएका १४ परिवारले नै सामूहिक लगानीमा नयाँ निर्माण गर्न मञ्जुरी जनाएका छन्।
गुठीले गरेको करार सम्झौतामा पनि दैवी वा प्राकृतिक प्रकोपका कारण क्षति भए बहालवालाले नै मर्मत गर्ने भनिएको छ।
अशोक वृक्ष विहारका गुठियार उत्तमधर तुलाधर। तस्बिर: नारायण महर्जन/सेतोपाटी‘पुनर्निर्माण गर्नुपर्ने हो भने अहिलेको संरचना नमासिने गरी हामी आफैं गर्छौं भन्दाभन्दै व्यापारिक संस्थालाई सुम्पन खोज्नुले गुठीको नियत प्रस्ट हुन्छ,’ सजीवले भने।
व्यापारिक कम्प्लेक्सको योजना पहिलोपटक बनेको होइन।
यसअघि २०६२ सालमा पनि जग्गा भाडामा दिन खोजिएको थियो। त्यतिबेला एक जना तालुकदारले बहालवालालाई पत्तै नदिई नगरपालिकाबाट नक्सा पास गराएका थिए।
बहालवालाहरूले मुद्दा हाले। जिल्ला अदालतले जितायो। पुनरावदेन र सर्वोच्च अदालतमा भने उनीहरू हारे।
कानुनी लडाइँमा हारे पनि उनीहरूले विरोध गरिरहे। स्थानीयले साथ दिए। घर भत्काउने योजना सफल भएन। यसपालि गुठी संस्थान घर भत्काउने प्रपञ्चमा लागेपछि स्थानीय फेरि आन्दोलित भएका हुन्।