दुई दिनदेखिको अविरल वर्षाका कारण प्रदेश-२ का विभिन्न जिल्लाका बस्तीहरु डुबानमा परेका छन्। वर्षाका कारण यस प्रदेशका विभिन्न जिल्लाहरुमा घरहरु डुबानमा परी मानिसहरु प्रभावित बनेका छन्।
सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ७ हजार २९० क्युसेक छ। वर्षकै उच्च बहाव मापन गरिएपछी कोसी ब्यारेजका २७ वटा ढोका खोलिएको छ। कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ।
वर्षाका कारण त्रियुगा खोलामा आएको बाढीले खोलाको बाँध नाघेर सप्तकोसी नगरपालिका वडा नम्बर ३ को मुसहर बस्तीका ३५, वडा न. ७ मा चौधरी बस्ती २५ घरमा डेढ फिट पानी जमेको छ। तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित राजविराजबाट भारतको कुनौली जाने सडक खण्डको खाडो खोलामा बाढी आएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको छ।
सिरहाको लहान नगरपालिका-३ गोधुली बस्ने सय वर्षीय रामबिलास यादव घर भत्किँदा घाइते भएका छन्।
कर्जन्हा नगरपालिका-२ कमला खोलाको पुलभन्दा दुई किमि उत्तर कमला खोलाको बीच टापुमा ६० वर्षीया बेत्रु मुखिया बाढीका कारण अलपत्र परेकी छन्। पानीको बहाव धैरे भएकोले उद्धार कार्यमा समस्या भइरहेको छ।
सिरहा लहान नगरपालिका वडा नम्बर १ र २ मिलनचौकका ५० घर वर्षाका कारण डुबानमा परेका छन्। त्यहाँ उद्धारका लागि सुरक्षार्मी खटाइएको प्रहरीले जनाएको छ।
धनुषामा वर्षाका कारण जनकपुरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको कोठामा पानी पसेका कारण दुई वटा कम्प्युटर, साउण्ड सिस्टम र सोफाहरुमा क्षति पुगेको छ। धनुषा सहिद नगरपालिका-२ बत्राही भन्ने स्थानमा कमला खोलाको बीचमा १ जना महिला, ४ जना पुरुष बाढीको पानीमा फसेपछि सुरक्षाकर्मी परिचालन गरी उद्धार गरिएको छ।
महोत्तरी जिल्ला प्रहरी कार्यालय महोत्तरी र कारागार महोत्तरीको भुइँ तलामा पानी जमेको छ। महोत्तरी बलवा नगरपालिका-२ बदिया बस्ने ७० वर्षीय हमिद मिया घरबाट घाँस काट्न जाँदा खोला तर्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका छन्।
सर्लाही बरहथवा नगरपालिका-१५ हरपुर्वामा वर्षाका कारण १५० घरधुरी प्रभावित भएका छन्।
रौतहट कटहरिया नगरपालिका-४ स्थित बकैया खोलाको बाँध फुटेको छ। रौतहट चपुर-२ पूर्व-पश्चिम राजमार्गको पहिलो लच्कामा बाढीका कारण साना सवारीसाधन आवतजावतमा समस्या भएको छ। ईशनाथ नगरपालिका-१ बन्जरहास्थित लालबकैया खोलाको फुटेको बाँधबाट बन्रहा गाउँ र राजपुर नगरपालिका-९ बैरिया गाउँमा पानी पसेर २४ घर डुबानमा परेका छन्।
बारा जितपुर सिमारा उपमहानगरपालिका-२२ स्थित पथलैया-हेटौंडा सडकखण्डको चुरियामाई नजिक वर्षाका कारण पहिरो खसी बाटो अवरुद्ध भएको छ। उक्त स्थानमा गएको पहिरो कटाउनका लागि प्रहरी परिचालन गरिएको बारा प्रहरीले जनायो।
पर्सा वीरगन्ज महानगरपालिका वडा ३० स्थित लालपर्सा प्रसुतिपुर भित्री सडकखण्डमा वर्षाको कारण रोड भन्दा ३ फिटमाथि पानीको वहाब बढेको छ। वीरगन्ज गोल्डेन बोर्डिङ स्कुलको ना६ख ८६२ नम्बरको बस पानीमा डुब्नै लाग्दा उद्धार गरिएको छ।
पर्सागढी नगरपालिका-१ बस्ने १० वर्षीय निखिल पटेलको सिंग्याही खोलामा दाउरा छान्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ।