गैरकानुनी रुपमा चेक प्वाइन्ट राखेर सवारी साधनबाट रकम असुल्ने युवाहरू पक्राउ परेका छन्। दाङको घोराही–रोल्पाको होलेरी सडक खण्डमा चेक प्वाइन्ट खडा गरी सवारी साधनवाट रकम असुल्दै आएका ६ जना युवाहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ३४ वर्षीय रामचन्द्र वली, वडा नं. १५ निवासी २८ वर्षीय चन्द्र खड्का, सोही ठाउँका ३१ वर्षीय नरेश घर्ती, वडा नं. १३ निवासी ३३ वर्षीय नन्दबहादुर पुन, वडा नं. १४ का २२ वर्षीय पृथ्वी वली र प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ३ मालारानी घर भई हाल घोराही १४ मा बस्दै आएका २६ वर्षीय खिमबहादुर पुन रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार उनीहरुले घोराही होलेरी सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बगाले भन्ने स्थानमा रोल्पा रुकुम ट्रक तथा मिनी ट्रक यातायातको बोर्ड राखेर चेक प्वाइन्ट खडा गरी विभिन्न सवारी साधनबाट गैरकानुनी रुपमा रकम असुल्दै आएका थिए।