काठमाडौं महानगरपालिकाले वडा २८ स्थित बुद्ध विहारलाई पुनर्निर्माणका लागि एक करोड रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ।
शनिबार आयोजित एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले रकम हस्तान्तरण गर्दै भने ‘स्थानीय जीवनसँग जोडिएका धार्मिक तथा साँस्कृतिक महत्वका बहा, बहिल, द्यो छेँ, क्वापा छेँ, पाटी, सत्तल, मठ, मन्दिर जस्ता भौतिक सम्पदाको संरक्षण गर्नु, जीर्णोद्धार गर्नु तथा पुनर्निर्माण गर्नु हाम्रो पहिलो काम हो। अब यस्ता सम्पदाको अभिलेख तयार पारेर पर्यटक गन्तव्यका लागि सूची तयार पारिनेछ।’
साँस्कृतिक सम्पदा क्षेत्रमा पर्यटन पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै उनले भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकलाई काठमाडौंको भ्रमण अविष्मरणीय बनाउने बताए।
पर्यटनसँग सम्बन्धित महानगरको कार्यमा स्थानीयलाई सहभागी हुन उनले आह्वान गरे।
‘पर्यटकको बसाइ लम्ब्याउन सके, स्थानीयवासीको आय वृद्धि हुनेछ त्यसैले महानगरका कार्यक्रममा सहभागी हुनुस्।’
बुद्ध विहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो।
डेढ रोपनी क्षेत्रफलमा भएको विहारभित्र बनेपामा सञ्चालित बौद्ध वृद्धाश्रमको नगर सम्पर्क कार्यालय, अखिल नेपाल भिक्षु महासंघको नगर सम्पर्क कार्यालय, बौद्ध महिला संघ नेपालको कार्यालय, धर्मोदय सभाको सम्पर्क कार्यालय छन्।
विहारका प्रमुख भिक्षु कोण्डन्य महास्थवीरका अनुसार, २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेपछि नयाँ भवन निर्माण गर्नुपर्ने अवस्था आएको हो।
२०७५ साल वैशाख १० गते शिलान्यास गरेर निर्माण कार्य थालिएको यस विहारको निर्माणाधीन ३ तले भवनमा एउटा सभा हल, पूजा कोठासहित ७ वटा कोठा हुनेछन्। परम्परागत नेवारी शैलीमा निर्माण भइरहेको यसको लागत ४ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ।
महानगरले उपलब्ध गराएको रकमबाहेक अन्य रकम दाताहरूबाट प्राप्त भइरहेको प्रमुख कोण्डन्यको भनाइ छ।