नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेता-कार्यकर्ता झापाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथर जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो सदस्य राजु दास, ताप्लेजुङ जिल्ला इञ्चार्ज सागर लिम्बू, ताप्लेजुङ जिल्ला सेक्रेटरी तथा मेची ब्युरो सदस्य नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य यमयोगेश लिम्बू र जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची-कोसी संयोजक गणेश कार्की ढोली छन्।
२९ वर्षीय दास ताप्लेजुङको आठराई त्रिवेणी नगरपालिकाका हुन्। ३४ वर्षीय लिम्बू ताप्लेजुङ सिद्धिनगवा गाउँपालिका-४ का हुन्। ५६ वर्षीय पौडेल ताप्लेजुङकै खोपतान्लुङ गाउँपालिका-२ का हुन्। ३७ वर्षीय यामयोगेश सोही गाउँपालिकाका हुन्। यस्तै, २४ वर्षीय ढोली फुङलिङ गाउँपालिका-४ का हुन्।
उनीहरूलाई आइतबार राति झापाका विभिन्न स्थानबाट पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाबाट बन्दोबस्तीका सामान तथा विभिन्न दस्तावेजहरू बरामद भएको छ।
विप्लव समूहको चन्दा-आतंकलगायत विभिन्न गतिविधिमा संलग्न उनीहरू झापामा आइपुगेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान थालिएको एसपी मैनालीले बताए।