उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार बिहान ९ बजे बेल्टारबाट वीरेन्द्र बजारतर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिँडिरहेका पैदलयात्री चौदण्डीगढी नगरपालिका-८ का ६० वर्षीया नम्रता थापालाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी थापालई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएकोमा स्वास्थ्य केन्द्र पुर्याउना साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
यस्तै, नवलपरासी पूर्व देवचुली नगरपालिका-१७ स्थित सडकमा नम्बर नखुलेको बलेरो जीपले लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाल्पा घर भएका २० वर्षीय राजेश नेपालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
फरार जीप र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।