धेरै चोरहरूमा पक्राउ परिन्छ कि भन्ने डर हुन्छ। सकेसम्म उनीहरू प्रहरीलाई छल्न खोज्छन्।
तर सबै चोर उस्तै नहुँदा रहेछन्! चोरी गरेपछि प्रहरी पक्राउ गर्छ र जेल जान पाइन्छ भनेर पनि कसैले चोरी गर्छ भन्ने सुन्दा अचम्म लाग्ला तर एक जना त्यस्तै चोर पक्राउ परेका छन्।
रूकुम पश्चिमको मुसीकोट नगरपालिका-१ त्रिवेणी चोकबाट राजु परियार पक्राउलाई प्रहरीले पक्राउ गर्यो।
राजुले गत शनिबार राति १२ बजे निर्मल बिकको मोबाइल पसलको प्लाइउड तोडफोड गरी ५००० रुपैयाँ, ३ थान मोबाइल फोन र तीन थान ब्याट्री चोरेका थिए।
प्रहरीले परियारलाई पक्राउ गरी सोधपुछ गर्यो। परियारले जेलमा खान र बस्न पाइने हुँदा चोरी गरेको प्रारम्भिक बयान दिए।
‘खान बस्न पाइने भनेर चोरी गरेको रहेछ,’ डिएसपी सुमित खड्काले भने,‘पहिले पनि चोरी गरेर ३ वर्ष जेल परिसकेको रहेछ।’
परियार २०७३ कात्तिक २३ गते सोही नगरपालिकाका दिनेश खड्काको घरबाट ल्यापटप तथा नगद चोरी गरेको थियो। त्यस आरोपमा ३ वर्ष जेल सजाय भोगिसकेका छन्।
प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रूकुम पश्चिमबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।