ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृत्यु भएको छ।
बाँकेबाट दाङतर्फ आउँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्सलाई विपरीत दिशा आएको ना ८ ज ५४३२ नम्बरको ट्रकले शनिबार दिउँसो करिब १ बजेर ४० मिनेटमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ को जिरो पोइन्ट नजिकै ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक हस्तबहादुर सुनारले जानकारी दिए।
मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी ३६ वर्षीय तिलकराम खड्का र २४ वर्षीया मालती खड्काका तीन दिनको छोराको मृत्यु भएको हो।
दुर्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घाइते भएका छन्।
मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ।
उनका पति तिलकराम खड्काको भने अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ।
तीन दिनअघि छोरा जन्मिएपछि खड्का परिवार नवजात शिशु ल्याएर घरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो।